भाद्र २६, २०८३
ताप्लेजुङ – निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सन ताप्लेजुङका संस्थापक अध्यक्ष एवं कञ्चनजङ्घा बोर्डिङ इंङ्गलिस स्कुलका प्रिन्सिपल काजी पालुङवाको निधन भएको छ ।
फोक्सोमा भएको क्यान्सरका कारण डेढ वर्षदेखि राजधानी काठमाडौँको एक अस्पतालमा उपचार गराइरहेका पालुङवाको शनिबार बिहान १ वजे मृत्यु भएको प्याब्सन ताप्लेजुङका अध्यक्ष देवराज गुरुङले जानकारी दिए ।
‘स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि पालुङवालाई शुक्रबार नै हेलिकप्टर बाट ताप्लेजुङ ल्याउने तयारी थियो,’ गुरुङले भने, ‘प्राविधिक कारणले शनिबार बिहान ल्याउने तयारी गरिएको थियो, तर रातिनै निधन भयो ।’
पालुङवाको शव शव वाहन मार्फत काठमाण्डौबाट ताप्लेजुङ प्रस्थान गराई सकिएको र शनिबार रातीसम्म ताप्लेजुङ पुर्याउने उनले जानकारी दिए । वाल सुवोधिनी संस्कृत माध्यमिक विद्यालयको अङ्ग्रेजी विषयको शिक्षक भएर शिक्षा क्षेत्रमा प्रवेश गरेका पालुङवाले निजी विद्यालय सञ्चालनमा ल्याएपछि त्यही कार्यरत रहेका थिए ।
पालुङवा प्याब्सनको दुई पटक केन्द्रीय सदस्य भएका थिए । २०२४ सालमा जन्मिएका पालुङवाको ६० वर्षको उमेरमा निधन भएको हो ।
