ताप्लेजुङ — तेस्रो अन्तर्राष्ट्रिय तिम्बुङ पोखरी ट्रेल रन प्रतियोगिताको पुरुषतर्फ इलामका सञ्जय राई र महिलातर्फ डोल्पाकी कमला क्षेत्रीले उपाधि जितेका छन् । स्थानीयतर्फको उपाधि भने सिदिङवा गाउँपालिका–१ कालीखोलाका भरत बानियाँले जिते ।
बिहीबार भएको २१ किलोमिटर दौड सञ्जयले १ घण्टा २४ मिनेट ३२ सेकेन्डमा पूरा गरे । उनका निकटतम् प्रतिस्पर्धी सोलुखुम्बुका अर्जुन कुलुङ राईले १ घण्टा २६ मिनेट ५८ सेकेन्डमा दूरी पार गर्दै दोस्रो भए । सञ्जयले ८३ हजार ५२५ र अर्जुनले ६३ हजार ५२५ रुपैयाँ पुरस्कार पाए ।
ताप्लेजुङको मैवाखोलाका फुर्वा लाक्पा शेर्पा १ घण्टा २७ मिनेट ४५ सेकेन्डमा दूरी पार गर्दै तेस्रो भए । उनले ४३ हजार ५२५ रुपैयाँ पुरस्कार पाए ।
महिलातर्फ कमलाले १ घण्टा ४६ मिनेटमा दूरी पार गर्दै उपाधि जितिन् । उनले ८३ हजार ५२५ रुपैयाँ पुरस्कार पाइन् । पुरुष धावककै हाराहारीमा दौडेकी कमलाकी प्रतिस्पर्धी पाँचथरकी सम्झना लिम्बूले १ घण्टा ४९ मिनेटमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गरिन् । उनले ६३ हजार ५२५ रुपैयाँ पाइन् । महिलातर्फ प्रथम र द्वितीय हुनेलाई मात्रै पुरस्कारको व्यवस्था गरिएको थियो ।


