भाद्र २५, २०८३
ताप्लेजुङ – जिल्लामा पहिलो पटक हुन लागेको प्रथम महिला फुटसलमा १८ टिमले प्रतिष्पर्धा गर्ने भएका छन् । पाँचथरको फिदिमबाट आउने एक र बाँकी ताप्लेजुङका टिमहरू रहेको आयोजक समितिका अध्यक्ष याङकी भोटिया मादेनले बताइन् ।
मादेनका अनुसार पुलिस, विद्यार्थी र समुहमा आवद्ध महिलाहरूको टिम रहेको छ । हरितालिका तिजको अवसरमा आयोजित प्रतियोगिता शुक्रबार बिहान १० बजेदेखि प्रारम्भ हुनेछ । आयोजक समितिका सचिव पुजन श्रेष्ठका अनुसार विजेताले २५ र उपविजेताले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
उत्कृष्ट खेलाडी, गोल किपर, डिफेन्डर, कोच लगायतले विधागत पुरस्कार प्राप्त गर्ने पुजनले जानकारी दिइन् । सदरमुकाम फुङलिङ स्थित कुलकर्ण फुटसल मैदानमा यसअघि पुरुषहरूको प्रतियोगिता भएको थियो ।
महिलाहरूले यस अघिदखिनै अभ्यास गरिरहेको र तिजको अवसर पारेर प्रतियोगितानै आयोजना गरिएको जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष एवं महिला फुटसल आयोजक समितिका विशेष सल्लाहकार अञ्जना कडरियाले बताइन् । यसले प्रतिस्पर्धीहरूको मनोबल बढाउने र फुटसलप्रतिको आकर्षणमा वृद्धि हुने उनको बुझाइ छ ।
पाथीभरा क्याम्पस सञ्चालक समितिका अध्यक्ष शिला इजम महिलाहरूको फुटसल प्रतिको आकर्षण बढेकाले प्रतियोगिताले थप जागरुकता बढाउने बताउँछिन् ।
