

ताप्लेजुङ – लाखे जात्राको अवसरमा आगामी भाद्र ३ गतेदेखि हुने ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा आयोजक क्लबको कप्तानी अनुप सेन्दाङले सम्हालेका छन् । प्रतियोगितामा सहभागी खेलाडीको नाम टुङ्गो लगाउँदा सङ्घर्ष स्पोर्टिङ क्लबले सेन्दाङलाई कप्तानको जिम्मेवारी दिएको हो । सेन्दाङको कप्तानीमा सबै खेलाडीको नाम टुङ्गो लगाएको सङ्घर्षका अध्यक्ष शैलेन्द्र गुरुङले बताए । उनका अनुसार सबै १८ जना खेलाडी जिल्ला भित्रका छन । श्रोतका अनुसार ए डिभिजन खेलिरहेका ताप्लेजुङकै एकजना खेलाडी काठमाण्डौमा रहेकाले उनलाई पनि ल्याउने प्रयास भइरहेको छ ।
क्लबका अनुसार गोलरक्षकमा जेम्स लिम्बू र पर्वत लिम्बुलाई छनौट गरिएको छ । रक्षा पङ्क्तिमा मिलन लिम्बू, नवीन खवास ,विशाल लिम्बू , सागर श्रेष्ठ ,अर्जुन सावा र प्रेम लिम्बू रहने छन । मिडफिल्डर कप्तान अनुप सेन्दाङ सहित सविन तामाङ, शिशिर राई, मञ्जित लिम्बू र दीपक लिम्बू रहने छन् । स्ट्राइकरमा मनजित येङ्देन, दिपेश लिम्बू, जङ्गबहादुर गुरुङ, सुशील लिम्बू र विवेक मादेन छनौट भएका छन् ।
मुख्य प्रशिक्षकमा डिके मादेन र सहायक प्रशिक्षकमा प्रविण राई रहेका छन् । गोलरक्षक जेम्स , मिडफिल्डर सविन र रक्षा पङ्क्तिका सागरले प्रतियोगितामा डेब्यु गर्दैछन् ।
आयोक संघर्षले भाद्र ३ गते हुने उद्घाटन प्रतियोगितामा भारतको कञ्चनजङ्गा एएफसीसँगको सामना गर्नुपर्ने छ । विगतका वर्षमा नेपालकै खेलाडी समेटेर ल्याएको तर सुविधाचाहिँ विदेशी लगेको भन्दै आयोजकले राम्रा खेलाडी ल्याउन यस अघिनै भारतको क्लबलाई चेतावनी दिई सकेको छ । यसवर्ष भारतले राम्रा खेलाडी मैदानमा उतार्ने भएकाले आयोजकले राम्रो तयारी गर्नुपर्ने फुटबल प्रेमीको सुझाव छ ।