भाद्र १३, २०८३
ताप्लेजुङ – फिदिम स्पोर्टिङ क्लब पाँचथर ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ । पहिलो पटक आफ्नो टिम लिएर ताप्लेजुङ आएको चित्लाङ एफसी काठमाण्डौलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै फिदिम सेमिफाइनलमा पुगेको हो ।
सदरमुकाम फुङलिङमा जारी प्रतियोगिताको दोश्रो खेलको निर्धारित ९० मिनेटमा दुवैले गोल गर्न सकेनन् । ट्राइब्रेकरमा चित्लाङका दिपेश गुरुङको प्रहारलाई फिदिमका गोलकिपर मिराक खजुमले रोकिदिए भनेँ विदेशी खेलाडी प्रिसोको प्रहार बाहिरियो ।
फिदिमको तर्फबाट निरोज लिङदेन, सुसन जबेगु, हितेन र अनिष परियारले गोल गरे । चित्लाङको तर्फबाट मिङसो लिम्बू, चेतन थारू र किरण सुनुवार गोल गर्न सफल भए । दिपेश गुरुङको चौथो र प्रिशोको पाचौँ प्रहार गोल हुन नसकेपछि फिदिमले पाचौँ प्रहार हान्नु परेन । शनिबारको म्यान अफदी म्याच फिदिमका गोल किपर मिराक भए र ७ हजार मूल्य बराबरको अलैँची प्राप्त गरे ।
म्यान अफदी म्याचको प्रायोजन मिक्वाखोला गाउँपालिका ४ साँवाका अलैँची किसान विजय साँवाले गरेका छन् । आइतबारको तेस्रो क्वाटर फाइनल खेल डिफेन्डिङ च्याम्पियन सलहेस युवा क्लब सिरहा र सातदोबाटो फुटबल क्लब ललितपुर बिच हुनेछ ।
खेल दिउसो ३ बजेदेखि सुरु हुने लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए । शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा जर्जियन युनाइटेड कालिम्पोङ भारत सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
उद्घाटन खेलमा आयोजक ताप्लेजुङ ११ लाई २–१ ले पराजित गर्दै भारतको टिम सेमिफाइनलमा पुगेको हो । आठ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइनल १९ गते हुनेछ ।
