भाद्र १२, २०८३
ताप्लेजुङ – ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको दोश्रो क्वाटर फाइनल शनिबार चित्लाङ एफसी बाग्मती र फिदिम स्पोर्टिङ क्लब पाँचथर बिच हुँदैछ ।
सदरमुकाम फुङलिङ स्थित भानुजन माविको मैदानमा दिउसो २ः३० वजेदेखि प्रतियोगितामा सुरु हुने आयोजकले बताएका छन् । दुवै टिम जितको खोजीमा रहेको बताएका छन् ।
शुक्रबार भएको उद्घाटन खेलबाट जर्जियन युनाइटेड कालिम्पोङ भारतले बिजयी सुरुवात गरेको छ । आयोजक ताप्लेजुङ ११ लाई घरेलु मैदानमा २–१ ले स्तब्ध पार्दै जर्जियन सेमिफाइनल प्रवेश गरेको हो । जर्जियनका कुञ्जमान थापाले पहिलो हाफको ४८ औं मिनेटमा गोलको खाता खोलेका थिए । भिडभाडका बिच डि बक्स भित्रबाट भएको उनको प्रहारलाई आयोजकका गोल किपर आकास लिम्बूले ठम्याउन सकेनन् ।
जर्जियनका उनै कुञ्जमानलाई ताप्लेजुङ ११ का खेलाडीले फाउल गरेपछि एम्पायर श्रवण लामाले पेनाल्टीको अवसर दिए । उनै कुन्जमानले हानेको पेनाल्टी गोलमा परिणत भयो र पाहुना टोलिले अग्रता दोब्बर बनायो । जर्जियनकालागि योे नै जितको निर्णायक गोल बन्यो ।
आयोजकको तर्फबाट दीपेश लिम्बूले ६८ औं मिनेटमा सान्त्वना गोल फर्काए । तर थप गोल गर्न नसक्दा प्रतियोगिताबाट बाहिरिनु पर्यो । आयोजकले यस वर्षको प्रतियोगितामा जिल्लाकै मात्रै खेलाडी मैदान उतारेको थियो । पहिलो खेलको म्यान अफदी म्याच कुञ्जमान भए र ७ हजार मूल्य बराबरको अलैँची प्राप्त गरे । यसको प्रायोजन मिक्वाखोला गाउँपालिका ४ साँवाका अलैँची किसान विजय लिम्बू साँवाले गरेका छन् ।
लाखेजात्रा पर्वको अवसरमा आयोजित ताप्लेजुङ गोल्डकपको फुङलिङ नगरपालिका प्रमुख अमिर मादेनले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा लाखे नाच, च्याब्रुङ नाच, डोको नाच लगायतका सांस्कृतिक झाँकी प्रस्तुत गरिएको थियो ।
आठ टिमको सहभागिता रहेको प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको फाइनल १९ गते हुनेछ ।
