ज्येष्ठ २४, २०८३
ताप्लेजुङ – राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो जिल्ला अधिवेशनले राजन कुमार गुरुङको सभापतित्वमा १३ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । गुरुङ फुङलिङ नगरपालिका ७ दोखु निवासी हुन् । उनी २०७४ को निर्वाचनमा नेपाली काग्रेसबाट उम्मेद्वार बनेर फुङलिङ ७ को वडाध्यक्ष भएका थिए । २०७९ को निर्वाचनमा कुनै पदमा उम्मेद्वार बनेनन् र रास्वपामा प्रवेश गरे ।
उपसभापतिमा मेरिङदेन गाउँपालिकाका मान बहादुर तामाङ, सचिवमा फुङलिङ नगरपालिकाका लिला प्रसाद पौडेल, सहसचिवमा फुङलिङ २ का गोपाल गुरागाँई चयन भएका छन् । रास्वपाको विधान अनुसार कोषाध्यक्ष कार्यसमितिले चयन गर्ने प्रावधान रहेको छ ।
निर्वाचित सदस्यहरूमा कमल लेछर्वो, छत्र बहादुर विश्वकर्मा, सुशीला कार्की भोटिया, शान्ति सिवा, हर्कराज गुरुङ, नवीन अधिकारी र राजेन्द्र कुमार थापा रहेका छन् । पदाधिकारी सहितका अधिकांस सदस्य फुङलिङ नगरपालिका निवासी हुन् ।
रास्वपाले यसअघि फुडलिड नगरपालिका सहित सिदिडवा, सिरिजङ्गा, मेरिङदेन, आठराईत्रिबेणी, मिक्वाखोला र पाथीभरा याङवरक गाउँपालिकाको पालिका अधिवेशन सम्पन्न गरेको छ । नौ स्थानीय तहमध्ये फक्ताङलुङ र मैवाखोला गाउँपालिकामा हुन बाँकी छ । पालिका अधिवेशनबाट फुङलिङ नगरपालिकामा युवराज बराल, मेरिङदेन गाउँपालिकामा जीवन पौडेल, सिदिङवामा कविराज लिम्बू, सिरिजङ्गामा भवानी प्रसाद दाहाल, मिक्वाखोलामा नुपु शेर्पा, पाथीभरायाङवरकमा शरन तामाङ र आठराईत्रिबेणीमा केदारनाथ प्रसाईँ सभापति चयन भएका छन् ।
