२९ फाल्गुण २०८२, शनिबार

जन्मदिनको अवसरमा सैनिक कर्मचारीले राखे विद्यालयमा अक्षयकोष

Logo
Taplejung Press शुक्रबार, फाल्गुण २८, २०८२

फागुन २९, २०८२

ताप्लेजुङ – नेपाली सेनाको दुर्गादल गुल्म ताप्लेजुङमा कार्यरत एक सैनिक कर्मचारीले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा अक्षय कोष स्थापना गरिदिएका छन् । सङ्खुवासभा जिल्लाको खाँदबारी नगरपालिका ८ पिप्ले निवासी पवन बजगाईँले भानुजन माध्यमिक विद्यालय अम्बिटारमा ५५ हजार ५ सय ५५ रुपैयाँ अक्षयकोष स्थापना गरिदिएका हुन् । पेन्सन हुने अवधिसम्ममा यो रकमलाई वृद्धि गरेर १ लाख ७ हजार ७ सय ७७ रुपैयाँ बनाउने उद्धोष बजगाईँले गरेका छन् ।

विद्यालयका सहायक प्रधानाध्यापक राजमणि प्याकुरेल र अक्षयकोष दाता बजगाईँ भएको सम्झौता अनुसार यसको व्याजबाट हरेक बर्स एकजना विद्यार्थीलाई कम्तिमा ५ हजार रुपैयाँ बराबरको शैक्षिक सामग्री वा नगदै रकम प्रदान गरिने छ । ब्याज रकम ५ हजार नपुगे बजगाईँले थप गरिदिने प्रतिवद्धता जनाएको प्याकुरेलले जानकारी दिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष युगराज गुरुङले बजगाईँलाई धन्यवाद ज्ञापन गरे । वसन्त पञ्चमीका दिन छात्रबृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ ।

सङ्खुवासभा घर भएका बजगाईँले कर्मथलो ताप्लेजुङमा सबैभन्दा वढी विद्यार्थी भएको विद्यालय रोजेर अक्षयकोष स्थापना गरेको बताएका छन् । ‘मेरो उद्देश्य पाथीभरामा केही गरौं भन्ने थियो, तर पाथीभरामा प्रसस्त भेटी रकम लगायतको सुविधा देखेपछि विद्यालयमा सहयोग गरेको हुँ’ बजगाईँले भने । उनले यसअघि आफ्नो विवाहको खर्च कटाएर मातापिता रोहित र पद्माकुमारी बजगाईँको नाममा सङखुवासभाकै बरुण बहुमुखी क्याम्पसमा १ लाख २५ हजार ५ सय २५ रुपैयाँको अक्षयकोष स्थापना गरिदिएका थिए ।

सङ्खुवासभाको माट्स नेपालद्वारा सञ्चालित अनाथालय र महेन्द्र मावि मानेभन्ज्याङमा अध्ययनरत सुस्त श्रवण तथा बहिरा विद्यार्थीलाई लुगाकपडा र स्टेसनरी सामग्री प्रदान गर्नुका साथै मनकामना मन्दीरमा रहेका बृद्धबृद्धालाई भोजन गराउने जस्ता सामाजिक काममा सहयोग पुर्याउँदै आएका थिए । सङ्खुवासभामा ब्लड बैङ्कको लागि हजुरआमा भद्रमायाको नाममा ११ हजार १ सय ११ रुपैयाँ समेत सहयोग गरेका बजगाईँले हरेक चार महिनामा रक्तदानमा सहभागी हुँदै आएका छन् ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!