ताप्लेजुङ — सिरिजङ्गा गाउँपालिका -१ सिनामका उर्मिला थेबे गत भदौ २५ गतेसम्म प्रतिनिधिसभाको सांसद थिइन् । २०७९ पुस ७ गते प्रतिनिधिसभा सदस्यको पद बहाली गरेकी उनको जिम्मेवारी भदौ २३ र २४ मा भएको नवयुवाहरूको आन्दोलनले गुम्यो । तर, ताप्लेजुङका मतदाताले त्यही पदमा छ महिनापछि नै छोरा क्षितिज थेबेलाई पुर्याएका छन् ।
फरक यति हो, आमा उर्मिला समानुपातिकबाट सांसद भएकी थिइन् । छोरा क्षितिज प्रत्यक्ष निर्वाचित भएर सांसद बने । क्षितिजको परिवारको राजनीतिक यात्रा यतिमा मात्रै सीमित रहँदैन । बुबा भूपेन्द्र थेबे १२ वर्ष ३ महिना अघि (२०७० मंसिर ४ गते) भएको संविधानसभा सदस्यको निर्वाचनमा निर्वाचित भएर सिंहदरबार छिरेका थिए । बाबु छोरा दुवैले प्रत्यक्ष निर्वाचनबाट निर्वाचित सांसदको रूपमा आफ्नो नाम लेखाएका छन् ।
१२ वर्षमा खोलो फर्कन्छ भन्थे । तर, ताप्लेजुङमा एमाले र कांग्रेसको प्रतिस्पर्धात्मक यात्रामा भने फर्किएन । एमालेको विजयको खोलो बगिनै रह्यो । ७० सालमा थेबेले नेपाली कांग्रेसका लिलादेवी बोखिमलाई १ सय ३९ मतले पराजित गरेका थिए । क्षितिजले कांग्रेस सभापति गजेन्द्रप्रसाद तुम्याहाङलाई २ हजार २ सय ५१ मत अन्तरले पराजित गरे । जिल्लाभरि झरेको ४६ हजार ४ सय ७४ मतमध्ये क्षितिजले १३ हजार ९ सय ६२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी गजेन्द्रप्रसाद तुम्याहाङले ११ हजार ७ सय ११ मत पाए ।
बाबु भूपेन्द्र र छोरा क्षितिजको निर्वाचन प्रतिस्पर्धामा निर्वाचन क्षेत्रको अन्तर भने छ । भूपेन्द्र उम्मेदवार बन्दा ताप्लेजुङ दुई वटा निर्वाचन क्षेत्र थियो । उनले क्षेत्र नम्बर १ बाट जितेका हुन् । छोरा उम्मेदवार बन्दा प्रतिनिधिसभाको लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको छ । ताप्लेजुङमा प्रतिनिधिसभाका लागि एक र प्रदेश सभाका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको छ । राजनीतिक परिवारमा जन्मी हुर्किएका क्षितिजले जिजुबाजेदेखिको विरासतलाई निरन्तरता दिएका हुन् ।
क्षितिजका बुबा भूपेन्द्र २०३७ सालदेखि राजनीतिमा सक्रिय भएका हुन् । २०४३ सालदेखिका जनप्रतिनिधि हुन् । २०४६ सालको प्रजातन्त्रपछि २०४९ र २०५४ सालमा गरी दुई पटक तत्कालीन सिनाम गाउँ विकास समिति (गाविस) अध्यक्ष भए । यसअघि २०४३ सालमा त्यही सिनाम गाउँ पञ्चायतको प्रधानपञ्च भएका थिए । २०३७ सालमा युवक संगठनको सभापति भएर राजनीतिक यात्रा प्रारम्भ गरेका थिए । लगातार एउटा गाविसको नेतृत्व गरिरहेका उनलाई ७० साल मंसिर ४ गते आधा जिल्लाको नेतृत्व गर्दै संविधान लेखनका लागि जनताले जनमत दिएका थिए । संविधानसभा सदस्य भइसकेपछि पार्टीको जिल्ला अध्यक्ष पनि भए ।
संघीयतापछि सिनामलाई सिरिजङ्गा गाउँपालिकाको १ नम्बर वडा बनाइएको छ । संघीयतापछिको पहिलो स्थानीय तहको निर्वाचनबाट सिरिजंगा-१ सिनामले उर्मिला र फुङलिङ नगरपालिका ५ ले भिमा ओझालाई वडाध्यक्षमा निर्वाचित गरेको थियो । ६१ वटा वडामा दुई मात्रै वडाध्यक्ष थिए । वडाध्यक्ष पछि उर्मिला प्रतिनिधिसभा सदस्य भइन् भने भिमा फुङलिङ नगरपालिकाको उपप्रमुखमा कार्यरत छन् ।
उर्मिला एमालेको निवर्तमान केन्द्रीय सदस्य पनि हुन् । एमाले, माओवादी केन्द्र लगायतका दल मिलेर बनेको नेकपा विभाजित भएर एमाले र माओबादी आ-आफ्नै पार्टीमा फर्किएपछि ताप्लेजुङ एमालेमा पार्टीको जिल्ला नेतृत्व गर्नेको अभाव जस्तै भएको थियो । आ-आफ्नो बाटो लागेकाबेला केपी शर्मा ओलिलाई समर्थन गर्दै भूपेन्द्र जिल्ला कमिटी अध्यक्षसमेत भएका थिए । एउटै पार्टीको नेतृत्वमा दुई व्यक्ति भएपछि २०७८ पुस २७ गते जिल्ला कमिटीको अधिवेशन भयो । अधिवेशनमा प्रतिस्पर्धी बलबहादुर साम्सोहाङलाई ५६ मतले पराजित गर्दै थेबे दोस्रोपटक जिल्ला कमिटीको अध्यक्ष बनेका थिए ।
अर्को रोचक प्रसंग के पनि छ भने, गाउँ पञ्चायतको नेतृत्व गरिरहेका भीमबहादुर जिल्ला पञ्चायत सभापतिका लागि आफ्नै सहोदर सम्धी लिवाङ गाउँ पञ्चायतका मानबहादुर लिवाङसँग प्रतिस्पर्धा गरेका थिए । तर, एक मतले पराजित भए । उनको गाउँबाट जिल्ला प्रवेशको बाटो रोकियो । उनका प्रतिस्पर्धी मानबहादुर सहोदर जेठो छोरा विजयराजका ससुरा थिए । बाबु, बाजे र जिजुबाजेले स्थानीय तहबाट राजनीति गरेपनि क्षितिज भने एकै पटक जिल्लाको नेतृत्व गर्दै सांसद बनेका छन् । भूपेन्द्र र उर्मिलाले मन्त्री बनेर देशको कार्यकारी भूमिकामा पुग्ने अवसर भने पाएनन् । व्यवस्थापिकामा चित्त बुझाउनु परेको छ ।
यही परिवार भित्रका विजय प्रकाश थेबे (भूपेन्द्रका कान्छा काकाको छोरा) भने २०३६ सालमा वाणिज् मन्त्री भएका थिए । थेबे परिवारको पहिलो मन्त्री भएकाले थेबेहरुलाई गाउँलेले मन्त्रीको सन्तान भन्ने उपाधि दिएको स्थानीय बताउँछन् । क्षितिज थेबे उम्मेदवार बन्दै गर्दा राजाको जस्तो एकै परिवारको शासन भनेर आलोचना पनि भएको थियो । तर, यो मुद्दाले खासै ठूलो रूप लिन पाएन । कार्यकर्ता तहमा सामान्यरुपमा उठे पनि आम रूपमा इस्यु बनेन ।
ताप्लेजुङको कान्छो उम्मेदवार
क्षितिज सिरिजङ्गा गाउँपालिका-१ सिनाममा २०४४ साल मंसीर २७ गते जन्मिएका हुन् । थेबेले २०८२ को प्रतिनिधिसभा निर्वाचनमा १३ राजनीतिक दलका १३ उम्मेदवारसँग प्रतिस्पर्धा गरे । प्रतिस्पर्धीमध्येका उनी (३८ वर्षीय) कान्छो उम्मेदवार हुन् । उनीसँग ६६ वर्षीय सूर्य तमु गुरुङसम्म प्रतिस्पर्धामा थिए । गाउँकै सिनाम माविबाट एसएलसी गरेका उनी उच्च शिक्षाको अध्ययनका लागि संघीय राजधानी काठमाडौंं गएका हुन् ।
राजनीतिक परिवारको सदस्य भएकाले उनले नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुबाट राजनीतिक यात्रा प्रारम्भ गरे । आफ्नै जन्मस्थल सिनाममा आयोजित आमसभालाई सम्बोधन गर्न आएका एमाले नेता केपी शर्मा ओलीसँग त्यही बेलादेखि सम्पर्कमा रहेका उनी परिवारको सदस्य जस्तै बने । त्यतिबेला एमालेको नेतृत्व माधवकुमार नेपाल थिए । तर, थेबे ओलीको गुटमा क्रियाशील भएका थिए । सिनाममा कार्यक्रम भइरहँदा हावा र हुण्डरी चलेर स्टेज उडाएको थियो । त्यो बेला छाताले नछेकेपछि प्लास्टिकको कुर्सीले ओढाएर ओलीको संरक्षण गर्नेमा पनि उनै क्षितिज थिए ।
क्षितिजले स्नातक तहसम्मको अध्ययन पूरा गरेका छन् । दुई छोरा र दुई छोरी मध्येका कान्छो सन्तान उनी मात्रै राजनीतिमा सक्रिय छन् । दाजु भने सिंगापुर प्रहरीमा छन् । दाजु र दुई दिदी राजनीतिमा क्रियाशील छैनन् ।
संघीयतापछि योगेश, योगेश पछि क्षितिज
संघीयता पछिका प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचित हुने तेस्रो प्रतिनिधि क्षितिज बनेका छन् । संघीयतापछिको पहिलो निर्वाचन २०७४ मा योगेश भट्टराई २९ हजार ४ सय ७९ मतसहित विजयी भएका थिए भने दोस्रो पटक २०७९ को निर्वाचनमा २ सय ८ मत मात्रै बढी ल्याएर विजयी भएका थिए । तर, यो निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र नेकपा एसले समीकरण गरेका थिए ।

