ताप्लेजुङ — जिल्लाका निजी विद्यालयले फागुन १८ गतेदेखि २५ गतेसम्म विद्यालय बिदा गर्ने भएका छन्। फागुन १८ गते होली पर्व पर्छ र यो दिन हिमाली तथा पहाडी जिल्लामा सार्वजनिक बिदा हुन्छ । २० देखि २२ गतेसम्म निर्वाचनका लागि बिदा दिने निर्णय गृह मन्त्रालयले गरिसकेको छ।
फागुन २३ गते शनिबार र २४ गते नारी दिवस भएकाले यी दुई दिन पनि सार्वजनिक बिदा छ । फागुन १९ गते एक दिन विद्यालय नलगाउने निर्णय गरिएको निजी विद्यालय अर्गनाइजेशन प्याब्सनका सचिव तरुण भारतीले जानकारी दिए।
भारतीका अनुसार १७ गते आइतबार लागेर बिदा भएका विद्यालय २५ गते सोमबार बिहान १० बजे देखि मात्रै नियमित हुनेछन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा गाउँ जाने शिक्षक तथा अभिभावकका लागि पनि सहज वातावरण बनाइएको जिल्ला अध्यक्ष देवाज गुरुङले जानकारी दिए। निर्वाचन सामग्री, प्रहरी कर्मचारी ओसार्नुपर्ने भएकाले गाउँमा चल्ने सवारी साधनमा भिडभाड हुने र अभिभावकले गाउँ फर्कनका लागि समस्या हुने बताएपछि बिदा थप भएको गुरुङले बताए।
जिल्लामा २६ वटा निजी विद्यालय रहेको जनाइएको छ।
