माघ १९, २०८२
ताप्लेजुङ – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीका महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, पूर्व पदाधिकारी लगायत जिल्लाका नेतालाई आफ्नो निर्वाचन क्षेत्रमा फर्कन नेपाली काँग्रेस ताप्लेजुङले उर्दी जारी गरेको छ ।
निर्वाचन परिचालन समितिका संयोजक एवं पार्टी सचिव युक हां बिर हाङगाम (डम्बर) ले सूचना निकालेर यस्तो उर्दी जारी गरेका हुन् । हाङ्गामद्धारा जारी सूचनामा भनिएको छ, ‘नेका ताप्लेजुङ जिल्लाका महासमिति सदस्यहरु, जिल्ला कार्य समितिका पूर्व पदाधिकारीहरू, महाधिवेशन प्रतिनिधिहरू, जिल्ला कार्य समिति, जन प्रतिनिधिहरू, आआफ्नो कामले काठमाडौँ लगायत अन्य स्थानहरूमा रहनु भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेद्वार गजेन्द्र तुम्याहाङज्युलाई अत्यधिक मतले विजय गराउन र समानुपातिकतर्फ गीता कुमारी सेन्दाङ महिला कोटामा १ नम्बर लिस्टमा पर्नु सफल हुनु भएकोले समानुपातिकतर्फ अत्यधिक मतले विजय हुन र गराउन आआफ्नो क्षेत्र तथा पालिकामा गएर विशेष भूमिका निर्वाह गरिदिनुहुन अनुरोध छ ।’
गाउँ गाउँ, टोल, टोलमा निरन्तर निर्वाचन केन्द्रित कार्यक्रम भइरहेकाले चाँडै जिल्ला आएर अभियानमा सहभागी हुन सूचना मार्फत आग्रह गरिएको छ । हाङ्गामका अनुसार चुनावी कार्यक्रम अन्तर्गत काँङ्ग्रेसले घरदैलो, आमसभा लगायतका कार्यक्रम जिल्लाका नौ वटै स्थानीय तहमा आयोजना गरेको छ ।
काँङ्ग्रेसले कार्यवाहक सभापतिको जिम्मेवारी डिल्ली रमण बराललाई दिएको छ । पार्टी सभापति गजेन्द्र प्रसाद तुम्याहाङ प्रतिनिधिसभाको उम्मेद्वार बनेपछि उपसभापति बराललाई कार्यवाहकको जिम्मेवारी दिइएको पार्टी प्रवक्ता विश्वराज नाल्बोले जानकारी दिए ।
