विराटनगर – माघ ६ गते प्रत्यक्ष तर्फको मनोनयन दर्ता गरेसँगै विभिन्न राजनीतिक दल आ-आफ्ना उम्मेदवारलाई जिताउने अभियानमा छन् । उम्मेदवार मतदाताकोमा पुगिसकेका छन् । दलहरू प्रचारमा जुटेका छन् । निर्वाचनमा होमिएका दल अहिले कार्यकर्ता परिचालनको तयारीमा जुटेका छन् । कांग्रेस, एमाले लगायतका दल निर्वाचन परिचालन समिति बनाएर तयारीमा जुटेका छन् ।
एमालेले तप्लेजुङ्ग, पाँचथर, इलामका दुई वटा निर्वाचनमा विजय हासिल गरेको थियो । झापाका ५ वटा निर्वाचन क्षेत्रमध्ये एमालेले २, ३ र ५ मा विजय हासिल गरेको थियो । मोरङका ६ वटा क्षेत्रमध्ये २ मा मात्रै विजय हासिल गरेको थियो । सुनसरीका ४ मध्ये २ मा, उदयपुरको २ मध्ये एउटामा र सोलुखुम्बुमा प्रत्यक्ष तर्फ विजय हासिल गरेको थियो ।
पहिला भन्दा सीट बढाउँछौँ : हिक्मत कार्की
एमाले सचिव हिक्मतकुमार कार्कीले अघिल्लो निर्वाचनभन्दा एमालेको सीट बढ्ने बताए । त्यसका लागि एमाले एकढिक्का भएर अगाडि बढेको उनको भनाइ छ । अघिल्लो निर्वाचनको भन्दा राम्रो परिणाम आउने बताउँछन् ।
कार्कीका अनुसार अधिकांश निर्वाचन क्षेत्रमा निर्वाचन परिचालन समिति बनेको छ । निर्वाचनलाई लक्षित गरेर २८ वटै क्षेत्रमा क्षेत्रीय समिति, १३७ वटै पालिका र सबै वडा कमिटीहरूको बैठक तथा भेला सम्पन्न भइसकेको उनले बताए । उनी भन्छन्, ‘यस पटक कम्तीमा १८ वटा निर्वाचन क्षेत्रमा हामी जित निकाल्छौँ ।’
कांग्रेस पहिलो पार्टी बन्छ : भूपेन्द्र
कांग्रेसका प्रदेश महामन्त्री भूपेन्द्र राईले पहिलो पार्टी बन्ने दावी गरे । उनले अहिले पार्टी महाधिवेशनपछि एक ढिक्का भएर अगाडि बढेकाले निर्वाचनको परिणाम कांग्रेसको पक्षमा आउने बताए । उनले भने, ‘यसपटक टिकट वितरणमा कुनै विवाद रहेन । टिकटका विषयमा विवाद नभएका कारण पार्टीमा कुनै समस्या छैन ।’
पार्टीको विशेष महाधिवेशनले पार्टी र कार्यकर्तामा उत्साह थपिएको उनको भनाइ छ । ‘हाम्रो बलियो पक्ष भनेकै हाम्रा कार्यकर्ता हुन्, कार्यकर्ता परिचालन भएपछि कांग्रेसको जित सुनिश्चित हो’, उनले भने ।
११ सीट जित्छौँ : डाँगी
नेपाली कम्युनिष्ट पार्टीका नेता शिवकुमार डाँगीले कोशी प्रदेशमा नेपाली उक्त पार्टीले ११ सीट जित्ने दाबी गरे । उनले आज सम्म ८ वटा क्षेत्रमा नेकपाका उम्मेदवार पहिलो स्थानमा रहेको बताए । अब ३ क्षेत्रमा पनि पहिलो हुने उनको दाबी छ । उनले विभिन्न कम्युनिष्ट पार्टीका बीचमा भएको एकताले नागरिकमा उत्साह थपिएको बताए ।
उनले भने, ‘बाम गठबन्धनका कारण माहोलै बनेको छ, यसले कोशीमा हाम्रो पार्टीले राम्रो परिणाम हासिल गर्छ ।’
१९ सीटमा रास्वपाको दाबी
राष्ट्रिय स्वतन्त्र पार्टी कोशीका महामन्त्री लालविक्रम थापाले १९ सीट जित्ने आँकलन गरेको बताए । उनले अधिकांश क्षेत्रमा युवा उम्मेदवार उठाएकाले रास्वपाका पक्षमा परिणाम आउने दाबी गरे ।
उनले भने, ‘देशले परिवर्तन खोजेका छ, परिवर्तनको संवाहक रास्वपा हो ।’
युवा उम्मेदवारलाई प्रधानमन्त्री तोकेर रास्वपा चुनावी मैदानमा होमिएकाले कम्तीमा १९ सीट जितेर देखाउने उनको दाबी छ । परिवर्तनको नारा नै आफूहरूको बलियो पक्ष भएको बताए । उनले पहाडी जिल्लाहरूमा सङ्गठन विस्तार नभएका कारण पहाडी क्षेत्रमा रास्वपा कमजोर हुने बताए ।
उनले भने, ‘हामी सबै क्षेत्रमा जित निकाल्ने प्रयासमा छौँ ।’
यी दलबाहेक कोशी प्रदेशमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएको छ । सो पार्टीले पनि यसपटक कोशीमा परिणाम आफ्नो पक्षमा पार्ने दाबी गरेको छ । पुरानादेखि वाक्क भएको भन्दै उक्त पार्टीका नेता आफ्नै सबै उम्मेदवारले जित्ने जिकिर गर्छन् ।
नेपाल प्रेस बाट साभार
