पुस १३, २०८२
ताप्लेजुङ – आगामी फागुन २१ का लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि जिल्लामा ९० हजार ३ सय २७ मतदाता हुने भएका छन् । जिल्ला निर्वाचन कार्यालयले अन्तिम मतदाता नामावली प्रकाशित गदैं पुरूष ४८ हजार २ सय ८५ र महिला ४२ हजार ४२ भएको जनाएको हो । पुरुषको तुलनामा महिला मतदाता ६ हजार २ सय ४३ कम छन् । यो आगामी फागुन २० गते १८ वर्ष उमेर पुगी २१ गते मतदान गर्न पाउनेको सङ्ख्या हो ।
२०७९ सालको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको तुलनामा २ हजार ४२ मतदाता थपिएका छन् । ७९ मा ८८ हजार २ सय ८५ मतदाता थिए । जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी वान्दवराज ‘विपिन’ दुलालका अनुसार नौवटा स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी मतदाता फुङलिङ नगरपालिकामा छन् । फुङलिङमा १८ हजार १ सय ९० मतदाता छन् । सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा ६ हजार ९ सय ४८ जना छन् ।
सिरिजङ्गामा ११ हजार ६ सय ६४, पाथीभरा याङवरकमा ९ हजार ७ सय ४१, आठराईत्रिवेणीमा ९ हजार ५ सय १, फक्ताङलुङमा ९ हजार ३ सय, सिदिङ्वामा ८ हजार ९ सय १५, मेरिङदेनमा ८ हजार ६ सय १२ र मैवाखोला गाउँपालिकामा ७ हजार ४ हजार ५६ मतदाता हुने दुलालले जानकारी दिए ।
आगामी निर्वाचनका लागि ८० मतदान स्थल र १ सय २८ मतदान केन्द्र कायम भएका छन् । यसअघि ७५ मतदान स्थल र १ सय २३ मतदान केन्द्र रहेका थिए । यस पटक ५ मतदान स्थल र ५ मतदान केन्द्र थप भएका हुन् ।
