ताप्लेजुङ आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन, सिमा क्षेत्रबाट हुने चोरी तस्करी, विदेशी पर्यटकको गतिविधि लगायतको नियमनका लागि सदरमुकाम फुङलिङबाट निस्किएको प्रहरी टोली फर्किएको छ । हतकडी, एसएलआर बन्दुक, लाठी सहितको नौजनाको टोलीलाई जिल्ला प्रहरी कार्यालयले ‘लङ रुट पेट्रोल गस्ती’ भनेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख वेदप्रसाद गौतम नेतृत्वको टोलीले उच्च हिमाली क्षेत्रका बासिन्दासँग आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका विषयमा छलफल तथा अन्तरक्रिया गरेको जनाएको छ ।
सिमा क्षेत्रको अनुगमन तथा निर्वाचन लक्षित छलफलका लागि फक्ताङलुङ गाउँपालिका ६ लेलेपको ५२ सय मिटर उचाइको लोनाकसम्म पुगेको गौतमले बताए । हिमाली क्षेत्रका नागरिक मतदानकालागि उत्साही रहेको गौतमको दावी छ । ‘स्थानीयलाई निर्वाचनको बेला हिउँ पर्लाकी भन्ने चिन्ता रहेछ अन्यथा मतदातामा उत्साहनै देखियो’ गौतमले भने । सिमा क्षेत्रमा अहिले खासै सुरक्षा चुनौती नदेखिएको उनको कथन छ ।
हिमाली जडीबुटी तथा वन्यजन्तुको अवैध ओसारपसारका विषयमा पनि स्थानीयसँग अन्तरक्रिया तथा सूचना सङ्कलन गरेको प्रहरी टोलीले जनाएको छ । फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू, लेलेपका वडाध्यक्ष पेम्वाटाँसी शेर्पा, कार्यपालिका सदस्य मिङमाडण्डु शेर्पा लगायतका जनप्रतिनिधिसँग प्रहरीले छलफल समेत गरेको थियो । मंसिर ७ मा निस्किएको टोली सोमबार सदरमुकाम आइपुगेको हो।
यस क्षेत्रमा ३१ सय मिटर उचाइको घुन्सा र ओलाङचुङगोलामा सिमा प्रहरी कार्यालय रहेको छभने गाउँपालिकाको केन्द्र तापेथोक र लेलेपमा प्रहरी चौकी रहेको छ ।
