कार्तिक २१, २०८२
ताप्लेजुङ – वर्षौदेखि बन्द रहेको ओलाङचुङगोला भन्सार कार्यालय सञ्चालनका लागि जोड दिदैँ आएका ताप्लेजुङको जेनजी समुहका प्रतिनिधि कर्मचारी खोज्दै आइतबार भन्सार विभाग काठमाण्डौ पुगेका छन् । उनीहरूले भन्सार विभाग प्रमुख सहित प्रशासन प्रमुखलाई भेटेर ओलाङचुङगोला भन्सारका कर्मचारी तत्काल पठाइदिन आग्रह गरेका छन् ।
यसअघि जिल्लामा जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाज विच भएको अन्तरक्रिया कार्यक्रमको निचोडपनि विभाग प्रमुख समक्ष अवगत गराएका छन् । जेन जी दिनेश सिग्देल र मुकेश कार्की नेतृत्वको टोलीले १५ दिन भित्रमा कर्मचारी पठाइदिने आश्वासन आफूहरूले पाएको बताएका छन् ।
‘त्यहाँ दरबन्दी भएका कर्मचारी अन्यत्रै रहेछन्, उहाँहरू (भन्सार विभाग प्रशासन प्रमुख) ले कर्मचारीको विवरण हेर्नु भयो र एक सातादेखि १५ दिन भित्रमा पुग्नेगरि पठाउँछौँ भन्नु भएको छ’ दिनेशले भने । भन्सार विभागका उपमहानिर्देशक (व्यवस्थापन तथा अनुपालन महाशाखा) भरतमनी पाण्डेले भन्सार कार्यालय राख्दा स्थानीवाट पाउने सहयोगका विषयमा फक्ताङलुङ गाउँपालिका ७ का वडाध्यक्ष छेतेन शेर्पा लामासँग समेत आइतबारै कुराकानी गरेका छन् । वडाध्यक्ष लामाले यसअघि एकजना नायब सुब्बा र एकजना कार्यालय सहयोगी उपलब्ध गराइदिन निवेदन दिएका थिए ।
