कार्तिक २०, २०८२
ताप्लेजुङ – जिल्ला अधिवेशनपछि आमनेसामने हुन नसकेका नेकपा एमाले ताप्लेजुङका दुई समुहबीच १८ महिनापछि बुधवार बेलुका छलफल भएको छ । कार्तिक १८ र १९ गते जिल्ला कमिटीको सातौँ पूर्ण बैठक सकिएपछि दुई पक्षबीच चार-चार नेता सहभागी भएर तीन घण्टा वढी छलफल भएको हो ।
एमालेकै एकजना नेता तारा घिमिरेको निवासमा भएको छलफलमा संस्थापन समुहबाट जिल्ला इन्चार्ज तिलकुमार मेन्याङबो, जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष दिपेन्द्र पोमु, सचिव एवं सूचना विभाग प्रमुख सन्तोष चाम्लिङ र प्रदेश कमिटी सदस्य सन्तोष खतिवडा थिए । असन्तुष्ट समूहबाट जिल्ला अधिबेसनमा अध्यक्षका उम्मेद्वार बलबहादुर साम्सोहाङ, उपाध्यक्षका उम्मेद्वार छत्रपति प्याकुरेल, सचिवका उम्मेद्वार मणि शङ्कर पोमु र प्रदेश कमिटी सदस्य मात्रिका प्रसाद भट्टराईको उपस्थिति रहेको थियो । दुई पक्षको छलफलमा प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडा र सचिव राजकुमार भण्डारीको सहभागिता रहेको जनाइएको छ ।
सहभागी एक नेताका अनुसार पार्टी गतिविधिका विषयमा दुई पक्षबीच गरमागरम छलफल भएको थियो । जिल्ला कमिटी सचिव एवं प्रचार विभाग प्रमुख चाम्लिङले भेलाको पुष्टि गर्दै पार्टीको आन्तरिक राजनीतिक विषयमा छलफल भएको बताए । ‘पार्टीमा नेताहरूवीच छलफल हुनु सामान्य हो । यसको वातावरण चाही प्रदेश कमिटी सदस्य मात्रिका भट्टराई सरले बनाउनु भएको हो,’ चाम्लिङले भने, ‘एकताबद्ध भएर कसरी अगाडि बढ्ने, सार्वजनिक रुपमा हिलो छ्यापाछ्याप नगर्ने जस्ता विषयहरू भएका छन् ।’
जेन जी आन्दोलन र सांसद विगठनपछि पार्टी आन्दोलनमा रहेको र सबै सङ्गठित भएर अगाडि बढ्नु पर्ने भएकाले छलफल आवश्यक रहेको उनको कथन छ । अव फेरी कहिले बस्ने भन्ने विषयमा भनेँ छलफल नभएको उनले बताए ।
