२१ मंसिर २०८२, आइतबार

मौसममा सुधार आएपछि आ आफ्नो गन्तव्यतर्फ लागे घुन्सामा भेला भएका पर्यटक

Logo
Taplejung Press ताप्लेजुङ प्रेस आइतबार, कार्तिक १६, २०८२

कार्तिक १६, २०८२
ताप्लेजुङ – मौसममा खराबी आएपछि फक्ताङलुङ गाउँपालिका ६ घुन्सामा केन्द्रीकृत भएका स्वदेशी तथा विदेशी पर्यटकहरू आ आफ्नो गन्तव्यतर्फ लागेका छन् । आइतबार बिहानदेखि मौसम खुलेपछि पर्यटकले घुन्सा छोड्न थालेको पर्यटन व्यवसायी एवं घुन्सा आधारभुत विद्यालयका शिक्षक छ्युमे शेर्पाले जानकारी दिए ।
‘हिजो सम्म त पानी र हिउँ परेको परेकै भयो । आज बिहानदेखि मौसम छ्याङ्गै भएर खुलेपछि होटलको बिल बुझाएर बिहानैदेखि सबै आ आफ्नो गन्तव्यतर्फ जाँदैछन्’ छ्युमेले भने। सदरमुकाम फुङलिङतिर फर्कनेले बिहान पाँच वजे देखिनै घुन्सा छोडेको उनले टेलिफोनमा जानकारी दिए । कञ्चनजङ्घा उत्तरी तथा दक्षिणी वेश क्याम्प जानेहरु पनि कुम्लोकुटुरो कसेर हिड्न थालेको उनले बताए । उत्तरी आधार शिविर पाङपेमा जानेहरू खम्बाछेनमा पुगेर बस्ने र भोलिमात्रै बेसक्याम्प जाने भएकाले बाटो ठिकै रहेको अर्का पर्यटन व्यवसायी छिरिङ शेर्पा बताउँछन । ‘घाम लागेकाले बाटोमा भएको हिउँ बिलाउँदै जान्छ, अलिअलि त मान्छेले हिडेरपनि बाटो बनाउनु पर्छ,’ उनले थपे, ’स्थानीयले पनि पुरापुर सहयोग पुर्‍याउँछौँ ।‘ दक्षिणी बेसक्याम्प जानेहरुपनि घाम लागेर बाटो खुलेकाले गन्तव्यतर्फ लागेको उनले सुनाए ।
हिमपात र लगातारको वर्षाका कारण कञ्चनजङ्घाका पर्यटकहरू घुन्सामा केन्द्रीकृत भएका थिए । घुन्साका सबै होटल र घरहरू पर्यटकले भरिएको त्यहाँबाट फर्किएका पर्यटन व्यवसायी अमिर राईले जानकारी दिए । ‘मेरो टोली हिड्‌न सक्ने भएकाले अलिअलि पानी पर्दै गर्दापनि सदरमुकाम फर्किहालिउँ,’ उनले थपे, ‘घुन्साका घरमापनि बास पाउन मुस्किल पर्नेगरीको भिड लागेको थियो तर स्थानीयले सवैलाई व्यवस्थापन मिलाएका थिए।’
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका घुन्सा पर्यटन सहायक टाँसी शेर्पाका अनुसार यो सिजनमा तीन सय वढी विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरिरहेका छन् । कार्तिक महिनाभरिनै पर्यटकहरूको चहलपहल हुने उनले बताए ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!