कार्तिक ११, २०८२
ताप्लेजुङ – ३१ सय मिटर उचाइमा रहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका ओलाङचुङगोला र घुन्सामा मङ्गलबार बिहान सिमसिम वर्षा भइरहेको छ । बस्तीबाट देखिने डाँडाहरू भने हिउँले भरिदै गएका छन् दिनभर पानी परे बस्तीसम्मै हिउँ झर्ने ओलाङचुङगोलाका तेन्जिङ शेर्पा र घुन्साका टाँसी शेर्पा बताउँछन् ।
यी दुवै पर्यटकीय क्षेत्र हुन् र धेरै पर्यटक अट्ने हिमाली क्षेत्रका ठूला वस्तीहरू हुन् । ‘मङ्गलवार बिहान विदेशी, स्वदेशी पर्यटक छन्,’ घुन्साका टाँसीले भने, ‘कोही उकालो बेसक्याम्पतिर गइरहेका छन्, कोही सदरमुकाम फुङलिङतिर झरे ।’ उकालो गएकाहरू बाक्लो हिमपात भए बस्तीमा फर्कने गरी हिँडेका उनले बताए ।
कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषदका पर्यटक सहायक समेत रहेका टाँसीले मौसमको विषयमा सबैजसो पर्यटक जानकार रहेको र आफूहरूले पनि जानकारी गराएको बताए । ओलाङचुङगोलाका तेन्जिङका अनुसार टिपताला भन्ज्याङ, सिञ्जेमा ताल क्षेत्रमा हिउँ परेकाले त्यसतर्फ जान अव केही चुनौती भएको छ । ‘मोबाइल, टेलिफोन लाग्दैन,’ तेन्जिङले भने, ‘गोठमा बसेर मौसमको विषयमा जानकार भएर हिँड्नुपर्ने हुन्छ ।’ बस्तीमा पुगेकालाई मौसमको विषयमा आफूहरूले जानकारी गराएको तेन्जिङ बताउँछन् ।
प्रशासनले भन्यो मौसम बुझेर मात्रै यात्रा गर्नु
यता, जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले सतर्कता अपनाउन सूचना मार्फत आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइले मङ्गलबार बिहान सूचना जारी गर्दै कार्तिक १० देखि १२ गतेसम्म सामान्य देखि हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको जानकारी मौसमी बुलेटिन मार्फत भएकाले आफू रहेको क्षेत्रको मौसमी अवस्था बुझेर मात्रै यात्रा गर्न अनुरोध गरेका हुन् ।
हिमाली क्षेत्रका बासिन्दा, पदयात्रामा निस्किएका स्वदेशी तथा विदेशी नागरिक, पाथीभरा दर्शनमा निस्किएका तीर्थयात्रीलाई सावधानी पूर्वक यात्रा गर्न अनुरोध गरिएको छ ।
