

५ कार्तिक २०८२
ताप्लेजुङ – ताप्लेजुङ फ्रान्सका दुईजना नागरिक बेञ्जामिन चार्ल्स इलि वेद्रिन्स र निकोलस पाउल अरीस्टाइडले फक्ताङलुङ तथा जन्नुइन भनेर पनि चिनिने कुम्भकर्ण हिमालको सफल आरोहण गरेका छन् । उनीहरूले पूर्वी क्षेत्रवाट पहिलो पटक आरोहण गरेका हुन् ।
७ हजार ७ सय १० मिटर उचाइको कुम्भकर्ण संसारको ३२औँ तथा नेपालको पन्ध्रौँ अग्लो हिमाल हो । किराँत धर्मावलम्बीहरूको आस्थाको केन्द्र समेत रहेको यसको रैथाने नाम फक्ताङ्लुङ हो । यही हिमालको कारण यहाँको गाउँपालिकाको नाम समेत फक्ताङ्लुङ रहेको छ ।
कुम्भकर्णको आरोहण गर्नुअघि फ्रान्सका यी नागरिकले ‘ह्वाइट वेभ पिक’ भनेर समेत चिनिने ६ हजार ८ सय ८ मिटर उचाइको ‘अदिनेश चुली’ को समेत आरोहण गरेका थिए । कुम्भकर्ण हिमाल आरोहणका लागि उनीहरूले भदौ १५ गते पर्यटन विभागबाट अनुमति लिएका थिए । ६० दिनमा हिमाल आरोहण गरिसक्ने अनुमति लिएका उनीहरूले निर्धारित समय अघिनै आरोहण गरेका अन्नपूर्ण फूटहिल्स ट्रेक्स एण्ड एक्सपिडिसनका तेन्जी शेर्पाले जानकारी दिए ।
असोज महिनामा भएको वर्षा, हिमपातले केही समय प्रभावित बनाएको थियो । कमैले मात्रै आरोहण गर्ने यो हिमाल यसअघि रसिया लगायतका देशका नागरिकले आरोहण गरेका छन् ।