०४ कार्तिक २०८२, मंगलबार

सुन तोलाको साढे दुई लाख नाघ्यो, धनतेरसमा कस्तो प्रभाव पर्छ ?

Logo
Taplejung Press ताप्लेजुङ प्रेस शुक्रबार, आश्विन ३०, २०८२
  • सुनको मूल्य तोलामा साढे दुई लाख नाघेसँगै तिहार र धनतेरसको बजारमा अन्योलता देखिएको छ।
  • मूल्य निरन्तर बढिरहेकाले सर्वसाधारणले गहना किन्न सक्ने अवस्था कमजोर बन्दै गएको छ।
  • धनतेरसको धार्मिक महत्वका कारण माग बढे पनि मूल्य वृद्धिले तिहारपछि बजारमा अनिश्चितता छाएको व्यवसायीहरूको भनाइ छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

काठमाडौँ — तिहार सुरु हुन दुई दिन मात्रै बाँकी छ । लक्ष्मीपूजा आउन तीन दिन । यस दिन मुख्यतः सुनचाँदीका गहनाको पूजा गरिन्छ । पूजापाठमा पैसाभन्दा सुनचाँदी प्रयोग गर्ने चलन छ । सर्वसाधारणले आफ्नो क्षमताअनुसार सुनचाँदीका गहना, मूर्ति, सिक्कालगायत खरिद गर्छन् ।

तर सुनको भाउले दिनदिनै नयाँ कीर्तिमान बनाउँदा बजार अन्योलतिर धकेलिएको छ । दसैंको सार्वजनिक बिदापछि सुनको भाउ तोलामै ७ हजार ४ सय रुपैयाँ बढेर २ लाख ३० हजार ६ सय रुपैयाँ पुगेको थियो । त्यसपछि निरन्तर रूपमा बढ्दै बिहीबार (असोज ३०) तोलाकै साढे २ लाख रुपैयाँ नाघेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।

असोज ३० मा महासंघले सुनको मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस सुनको भाउ ४२३९ अमेरिकी डलर थियो । नेपाली बजारमा प्रतितोला २ लाख ५० हजार ९ सय रुपैयाँ कायम गरिएको छ । असोज २९ मा महासंघले मूल्य निर्धारण गर्दा अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ४१७५ अमेरिकी डलर थियो । यहाँ प्रतितोला २ लाख ४८ हजार ९ सय रुपैयाँ तोकिएको थियो । बिहीबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस ६४ अमेरिकी डलर बढ्दा नेपालमा सुनको भाउ साढे २ लाख नाघेको हो ।

‘सुनको भाउ यही क्रमले बढिरहे सर्वसाधारणले सुन किन्न सक्ने अवस्था रहन्न । तिहारमा मुख्यतः धनतेरसका लागि सर्वसाधारणले अर्डर दिएका छन्,’ महासंघका अध्यक्ष अर्जुन रसाइलीले भने, ‘मूल्य अझै बढ्ने आकलनले मंसिर, माघ, फागुनमा बिहेकै लागि अहिले नै गहनाको अर्डरसमेत आएको छ । सिजनका लागि अहिले नै सुन अर्डर गरेर पैसा छाड्नेहरू छन् । तर तिहारपछि बजार कस्तो हुन्छ भन्ने आकलन गर्न सक्ने अवस्था छैन ।’

महासंघले अन्तर्राष्ट्रिय बजारलाई ७५ र भारतीय बजारलाई २५ प्रतिशत आधार मानेर मूल्य निर्धारण गर्छ । अन्तर्राष्ट्रिय बजार मूल्य, डलरको विनिमय दर, भन्सार दर र १ प्रतिशत मुनाफा (बैंकलाई ५० प्रतिशत र व्यवसायीलाई ५० प्रतिशत) गरी बजार मूल्य निर्धारण गर्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतितोला २ लाख ६५ हजार रुपैयाँसम्म पुग्ने प्रक्षेपण गरिएको अध्यक्ष रसाइली बताउँछन् । मूल्य अस्वाभाविक रूपमा वृद्धि हुँदा नेपाली गहना बजार पनि प्रत्यक्ष प्रभावित हुने उनले जनाए ।

‘अहिले विश्वकै अर्थतन्त्र अस्थिर छ । संसारभर लगानीको वातावरण छैन, मन्दी छाएको छ । त्यसमाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विभिन्न मुलुकमा बढाएको भन्सार शुल्कले पनि असर परेको छ,’ अध्यक्ष रसाइलीले भने, ‘त्यही कारण विश्वका शक्तिशाली राष्ट्रले पनि सुनमा लगानी बढाए, लगानीकर्ताले लगानी थपे । जसले गर्दा मूल्य बढ्दो क्रममा छ ।’

अहिले सुनको मूल्य बढे पनि तिहार (धनतेरस) कै कारण सुनको माग भने बढेको रसाइलीको दाबी छ । ‘राष्ट्र बैंकले दिनहुँ २५ किलो कोटा निर्धारण गरे पनि बजारमा माग ४० देखि ४५ किलो पुगेको छ । पुरानो सुन फिर्ता र विदेशबाट आएको सुनले जसोतसो माग धानेको छ,’ उनले भने ।

भारतीय संस्कृति र प्रभावले नेपालमा मनाउन सुरु गरिएको धनतेरसको छुट्टै धार्मिक मान्यता छ । धनतेरसको दिनमा खरिद गरिएको सामान लक्ष्मी भित्रिने मान्यता रही आएको छ । जसले गर्दा धनतेरस नजिकिएलगत्तै सर्वसाधारणले गहना अर्डर गर्न थालेका व्यवसायी बताउँछन् । तर दिनदिनै बढिरहेको सुनको भाउले तिहारपछि बजार के हुनेमा अन्योल भएको उनीहरू बताउँछन् ।

‘तिहार भएकै कारण बजारमा चहलपहल छ । तिहारसम्म गहनाको कारोबार राम्रै हुन्छ, त्यसपछि भने अन्योल छ,’ महासंघका प्रथम उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले भने, ‘अहिले गहना नै किन्ने पनि बढेको छ । पहिलो प्राथमिकता भने ढिक्का नै खोज्छन्, त्यसको विकल्पमा बेरुवा औंठी किनेका पनि छन् ।’ सुनको मूल्य अझै बढ्न सक्ने भन्दै सर्वसाधारणले सुरक्षित लगानीका रूपमा ढिक्का सुन, बेरुवा औंठी र सिक्का किन्न रुचाएका छन् । तर राष्ट्र बैंकको नियमअनुसार सुनको ढिक्का बिक्री गर्न मिल्दैन । ढिक्काको सट्टा व्यवसायीहरूले बेरुवा सुनका औंठीलगायत बिक्री गरेका छन् ।

बेरुवा औंठीमा ज्याला करिब ३/४ सय रुपैयाँ लाग्छ । जर्ती पनि बढीमा तीन लाल हुन्छ । सर्वसाधारणले बिक्री गर्दा जोखिम हेरेर व्यवसायीले करिब २ प्रतिशत काट्ने गरेको व्यवसायी बताउँछन् । गहनाको बिक्री ९० प्रतिशत घटे पनि ढिक्का, सिक्कालगायतको माग बढेको गहनाविज्ञ तेजरत्न शाक्यले बताए । ‘जति पनि ग्राहक आउँछन्, उनीहरूको पहिलो रोजाइ ढिक्का सुनकै हुन्छ । तर नियमअनुसार बिक्री गर्न मिल्दैन,’ शाक्यले भने, ‘व्यवहारमा चलेकै छ । व्यवसायीले ढिक्का सुनको माग पुर्‍याउन सकेका छैनन् तर तथ्यांक छैन ।’

शाक्यका अनुसार अन्तर्राष्ट्रिय अर्थशास्त्रीहरूले डिसेम्बर २०३६ सम्म सुनको भाउ प्रतिऔंस ५ सय अमेरिकी डलरसम्म पुग्ने बताइरहेका छन् । प्रतिऔंस ५ सय अमेरिकी डलर पुगे नेपाली बजारमा तोलाकै ३ लाख रुपैयाँसम्म पुग्छ । केही अर्थशास्त्रीले मूल्यमा भारी गिरावट आउने पनि बताइरहेका छन् । ‘भारी गिरावट हुँदा १० देखि २० प्रतिशतसम्म घट्न सक्छ । तिहारपछि मूल्यमा सुधार हुने संकेत पनि छ,’ गहनाविज्ञ शाक्यले भने ।

अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ बैंक) को नीतिका कारण पनि सुनमा लगानी गर्नेको संख्या बढेको छ । बैंकले ब्याजदर रेट घटाउँदै ४ देखि ४.२५ बनाएको छ । अमेरिकाबाहेक क्यानडा, बेलायत, युरोपियन युनियन, अस्ट्रेलिया, मेक्सिको, रुसलगायत केन्द्रीय बैंकले पनि ब्याजदर घटाएका छन् । घट्दो ब्याजदरका कारण उच्च प्रतिफलका लागि लगानीकर्ता सुनमा आकर्षित छन् ।

विश्वमा सबैभन्दा बढी सुन चीन र भारतमा खपत हुन्छ । त्यसपछि अमेरिका, संयुक्त राज्य, टर्किए, थाइल्यान्डलगायत मुलुकमा खपत हुन्छ । यीलगायत अन्य मुलुकले पनि सुन मौज्दात बढाउँदा मूल्य बढ्न थप मद्दत पुगेको जानकार बताउँछन् । वाणिज्य बैंकले नेपालमा सुन आयात मात्रै गर्न पाउँछन् । बैंकले आयात गरेको सुन गहना व्यवसायीका संघ, महासंघ, संस्थाको सिफारिसमा व्यवसायीले पाउँछन् ।

सुनको मूल्य कहिले कति ?

असोज १ : २ लाख १६ हजार १ सय

असोज २ : २ लाख १५ हजार २ सय

असोज ३ : २ लाख १६ हजार

असोज ५ : २ लाख १७ हजार १ सय

असोज ६ : २ लाख १७ हजार ८ सय

असोज ७ : २ लाख २१ हजार ७ सय

असोज ८ : २ लाख २३ हजार

असोज ९ : २ लाख २१ हजार ३ सय

असोज १० : २ लाख २२ हजार ५ सय

असोज १२ : २ लाख २३ हजार २ सय

असोज १९ : २ लाख ३० हजार ६ सय

असोज २० : २ लाख ३३ हजार १ सय

असोज २१ : २ लाख ३५ हजार ४ सय

असोज २२ : २ लाख ३८ हजार

असोज २३ : २ लाख ३९ हजार २ सय

असोज २४ : २ लाख ३५ हजार

असोज २५ : २ लाख ३८ हजार

असोज २६ : २ लाख ३८ हजार

असोज २७ : २ लाख ४० हजार ४ सय

असोज २८ : २ लाख ४० हजार ५ सय

असोज २९ : २ लाख ४८ हजार ९ सय

असोज ३० : २ लाख ५० हजार ९ सय

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066
error: Content is protected !!