

३० आश्विन २०८२
ताप्लेजुङ – नेपाली काँग्रेस ताप्लेजुङका प्रवक्ता गणेश सिग्देलको शव श्रद्धाञ्जलीकालागि पार्टी कार्यालय अगाडि राखिने भएको छ । काँग्रेस जिल्ला कार्य समिति ताप्लेजुङका सभापति गजेन्द्र प्रसाद तुम्याहाङ अनुसार घरबाट शव यात्रा सुरु भएपछि केही समय पार्टी कार्यालय अगाडि राखिने छ ।
पार्टीको झण्डा ओडाएर पार्टीका नेता कार्यकर्ताले श्रद्धाञ्जली व्यक्त गर्ने र शव यात्रामा सहभागी हुने तुम्याहाङले जानकारी दिएका छन् । बिहीवारका लागि बोलाइएको पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक स्थगित भएको छ । काङ्ग्रेसले वर्तमान राजनीतिक घटना परिघटनाका विषयमा छलफल गर्न बिहीवार दिउसो पदाधिकारी बैठक बोलाएको थियो ।
फक्ताङलुङ गाउँपालिका ४ इखावुमा जन्मभई फुङलिङ नगरपालिका ५ क्याम्पस लाइन बस्तै आएका सिग्देल काँग्रेस जिल्ला कार्य समितिको सदस्य तथा काँग्रेस प्रवक्ता रहेका थिए । क्यान्सरबाट प्रभावित सिग्देललाई उपचारकालागि भारतको मुम्बई लगिएको थियो । बोनम्यारो ट्रान्सफर गर्नेक्रममा अन्तिम समयमा समस्या देखिएर शरीरले ग्रहण गर्न नसकेपछि अस्पतालले रिफर गरेको थियो । नेपाल फर्काउनेक्रममा सिग्देलको बुधबार बेलुका बाटोमा निधन भएको थियो ।
सिग्देलको अन्येष्टि तमोर नदीको सिस्ने घाटमा गरिने परिवारले जनाएका छन् ।