

१९ आश्विन २०८२
ताप्लेजुङ – मिक्वाखोला गाउँपालिका ४ साँवाका ३१ वर्षीय सन्जुहाङ चोङवाङ साँवा पाँच वर्ष कोरिया बसे । गत असार तेश्रो साता जन्मस्थल आए । यहाँ उनका बाबु नरेन्द्र, आमा मङ्गलमाया र कान्छी बहिनी मिना घरमा थिए । काम छ भनेर केही समयपछि काठमाण्डौ गए । फर्कँदा सन्जुहाङले भदौ पहिलो साता उर्लाबारी २ सुनझोडा मोरङबाट मनीषा कार्कीलाई लिएर आए । बुहारी लिएर आएको भनेपछि आमाबा र गाउँसमाजले राजीले आएको…भनेर सोधे । मनीषाले राजी भनेपछि घर भित्र्याइदिए । ज्योतिषीलाई साइत हेराएर आफ्नो मुन्धुम संस्कृति अनुसार असोज ७ गते गाउँसमाजलाई साक्षी राखेर धुमधामले विवाह गरिदिए ।
सन्जु र मनीषाले माइती ससुरालीमा विवाह गरिदिने निमन्त्रणा छ भनेपछि शनिबार बिहान घरबाट बोलेरो गाडी चढे । वडा सदस्य समेत रहेका सन्जुका छिमेकी तथा दाजु नाता पर्ने सूर्य साँवाका अनुसार उनीहरूलाई माइतीमा १९ गते आइतबार विवाह गरिदिने तयारी थियो । बिहान ३ वजे घर नजिकैको बाटोबाट गाडी चढेका थिए । छोराबुहारीलाई बिदाई गर्न बाबु नरेन्द्र र आमा मङ्गलमाया सडकसम्मै आए । धरान पुग्ने गाडी साँबाको तेम्बावाट छुटेको थियो । गाडीमा चढेका पहिलो प्यासेन्जर उनीहरूनै भएको सूर्य बताउँछन । यहा नजिकैबाट मनु साँवा चढेकी थिइन । मनुकी फुपुकी छोरी गीता हाङगाम बाटोमा पर्ने मेरिङदेन गाउँपालिका ४ लिङतेपबाट चढ्ने उनीहरूले सुनाएका थिए ।
मनिषाको माइतीघरमा आइतबार विवाहको टिका लगाएपछि काठमाण्डौं जाने र घर आउने सन्देश सन्जुले बाबुआमालाई छोडेका थिए । सन्जु फेरिपनि कोरिया जाने तयारीमा थिए । विडम्बना आफ्नै रोजाइले पराइघर पुगेकी मनिषाले फेरी माइतीघर पुग्न र आमालाई ज्वाइँ चिनाउन पाइनन् । बुबाको पहिल्यै स्वर्गारोहण भएको थियो ।
असोज ७ गते जोडिएको उनीहरूको लगन गाँठो १८ गते शनिबार पाँचथरको कुम्यायक गाउँपालिका ३ कार्तिकेमा टुट्यो । मनिसाको घटनास्थलमै मृत्यु भयोभनें घाइते सन्जुहाङलाई पाँचथर अस्पतालमा उपचारार्थ भर्ना गरियो । परिवारले उनलाई शनिबार बेलुका थप उपचारकालागि धरान स्थित घोपा क्याम्प पुर्याएका छन् ।
शनिबार मिक्वाखोला गाउँपालिका ४ सावाँबाट मेरिङदेन हुँदै धरानका लागि छुटेको बोलेरो जिपमा मृत्यु र घाइते अधिकांश मेरिङदेन गाउँपालिकाका छन् । तमोर करिडोर सडक खण्ड अन्तर्गत पाँचथर जिल्लाको कुम्मायक गाउँपालिका ३ कार्तिकेमा उनीहरू सवार मे१ज ३०५५० नम्बरको जिप दुर्घटना भएको थियो ।
सवारी दुर्घटनामा मेरिङदेन २ सान्थाक्राका बिनोद लङवा, ४ लिङतेपकी गीता हाङगाम, ५ थुकिमाका अबिसेक लिम्बू, धन कुमार लिम्बू र सिदिङबा गाउँपालिका १ कालिखोला विवाह भएकी मेरिङदेन ५ कै युना तामाङको मृत्यु भएको छ ।
सन्जुहाङ सहित मेरिङदेन ५ थुकिमाका जिप चालक महेश केदेम लिम्बू, विमल लिम्बू, मिक्वाखोला ४ सावाँका मनु सावाँ, मेरिङदेन ५ मावली भएका कालिखोलाका अनिष लिम्बू र फुङलिङ नगरपालिका ३ जन्मस्थल भई सुनसरी ७ इटहरी बस्तै आएका महेश गुरागाइँ घाइते छन् । घाइते सबैको धरान स्थित घोपा क्याम्पमा उपचार भइरहेको छ ।जीप अनियन्त्रीत भई दुर्घटना भएको र सडकबाट पाँचसय मिटर तल झरेको प्रहरीले जनाएको छ । उनिहरुलाई प्रहरी सशस्त्र प्रहरी, नेपाली सेना र यात्रा गरिरहेका यात्रुहरुले उद्धार गरेका थिए ।