

आश्विन १५, २०८२
ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जोडीले पाथीभरा मन्दिरमा पुगेर लगन गाँठो जोडेका छन् । ३ हजार ७ सय ९४ मिटर उचाइको मन्दिर परिसरका सिँदुर पोते गरेका हुन् ।
मोरङका सुजन पराजुली र ओखलढुङ्गाकी सविता कार्की प्रहरी कार्यालयमा कार्यरत छन् । बडादशैंको अवसरमा विवाहका लागि मन्दिर पुगेको जोडीलाई आशीर्वाद प्रदान गर्न जिल्ला सुरक्षा समिति प्रमुख एवं प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईं, जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतम पनि वैवाहिक कार्यक्रममा सहभागी भए । दुर्गादल गुल्मका गुल्मपति सेनानी उमेश खड्का, सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोदप्रसाद पाठक सहितको उपस्थिति रहेको थियो ।
पाथीभराका पुजारी डिल्ली आचार्यका अनुसार पाथीभरा पुगेर विवाह गर्नेको सङ्ख्या पछिल्ला वर्ष उल्लेख्य छ । ‘म दसैंकालागि घर झर्नुपर्ने भएकाले उहाँहरूको विवाहमा सरिक हुन सकिन,’ डिल्लीले भने, ‘टिका पौडेल गुरुले विवाह गराउनु भयो ।’ साँढी, चोलो लगायतका पोशाक लगाएका र पोशाक नलगाइकनै सिँदुरपोते गर्नेहरू हुने आचार्य बताउँछन । उनका अनुसार सफल दाम्पत्य जीवनको कामना गर्दै मातासँग आशीर्वाद लिने गरेका छन् ।