

१३ आश्विन २०८२
ताप्लेजुङ – सोमवार जिल्ला स्थित सुरक्षा निकायका ब्यारेकमा फूलपाती भित्र्याइएको छ । बाजागाजा बढाइँ सहित तीनवटै सुरक्षा ब्यारेकमा फूलपाती भित्र्याइएको हो। प्रमुख जिल्ला अधिकारी सहित नेपाली सेना र सशस्त्र प्रहरी नेपाल प्रहरीको कार्यालयमा फूलपाती लिन जाने प्रचलन छ ।
यहा सिद्धीडाँडा, हाङदेवा लगायतका स्थानबाट उखु, बेलपाती लगायतका फूलपाती ल्याइन्छ । सोमबार प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईं, दुर्गा दल गुल्मका गुल्म पति सेनानी उमेश खड्का, सशस्त्र प्रहरी बल नेपाल नं १ गुल्म हेड क्वाटर कञ्चनजङ्घाका गुल्म पति सशस्त्र प्रहरी नायब उपरीक्षक प्रमोदप्रसाद पाठक सहितको टोली बैण्ड बाजा सहित जिल्ला प्रहरी कार्यालयमा पुगे ।
प्रहरीको प्राङ्गडमा रहेको दुर्गा मन्दिरमा पूजाअर्चना गरे र तीनवटै सुरक्षा निकायले सलामी अर्पण गरे । त्यसपछि जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतम सहितको टोली फूलपाती लिएर सेनाको दुर्गादल, सशस्त्रको कञ्चनजङ्घा गुल्म र जिल्ला प्रशासन कार्यालय पुगे र आ आफ्नो ब्यारेक फर्किए । फूलपाती बेक्न डोली सहितको प्रयोग गरिएको थियो ।
सप्तमी तिथिको दिन दसैँको लागि पूजा सामग्री स्वरूप फूलपाती भित्र्याउने गरिन्छ । फूलपाती स्वरूप केरा, दारिम, धान, हलेदो, माने, करचुर, बेल, अशोक, जयन्ती लगायत भित्र्याउने प्रचलन छ ।