

ताप्लेजुङ – अलैँची व्यवसायी महासङ्घको अधिवेशन भाद्र १४ र १५ गते झापाको बिर्तामोडमा हुने भएको छ । अलैँची नेपाल बाट सबैभन्दा वढी निर्यातहुने कृषि उपजमध्येको एक हो । महासङ्घको नेतृत्वका लागि तीन आकाङ्क्षी देखिएका छन् ।
व्यवसायी महासङ्घका वर्तमान महासचिव नारायण चिमरिया झापा, संस्थापक उपाध्यक्ष तथा बरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका पाँचथर फिदिमका दीपक नेपाल र गत आर्थिक वर्ष सबैभन्दा वढी अलैँची निर्यात गर्ने तथा अघिल्लो अधिवेशनका प्रत्यासी ओमकृष्ण बिमली मुख्य प्रतिष्पर्धीका रुपमा रहेका छन् । नेपालबाट वार्षिक आठ अर्बको हाराहारीमा अलैँची भारत निर्यात हुने गरेको छ । अलैँची व्यवसायी महासङ्घका अधिकृत अनिल ढुङ्गानाका अनुसार पाँचौ अधिवेशन तथा नबौँ साधारणसभा गर्न लागिएको हो । ४३ जिल्लामा उत्पादन हुने अलैँचीको मुख्य कार्यालय झापा बिर्तामोड र शाखा १६ जिल्लामा रहेको छ । ढुङ्गानाका अनुसार दुई सय ३० जना प्रतिनिधि रहने वैधानिक ब्यवस्था रहेको छ । हरेक जिल्लाबाट पाँच जनाका दरले प्रतिनिधि र केन्द्रीय समितिका सदस्य हुनेछन् ।
१४ गतेका लागि साधारणसभा र १५ गतेकालागि निर्वाचन कार्यक्रम राखिएको व्यवसायीले बताएका छन् । राजेन्द्र घिमिरे संस्थापक अध्यक्ष रहेको महासङ्घमा निर्मल भट्टराईले दुई कार्यकाल र राजकुमार कार्कीले नेतृत्व गरिसकेका छन् । २१ सदस्यीय समितिमा बरिष्ठ उपाध्यक्ष एकजना, कृषि तथा वाणिज्य उपाध्यक्ष र महिला उपाध्यक्ष एकएक जना, महासचिव र सचिव रहने प्रावधान छ । सशस्त्र द्वन्द्वमा गाउँबाट खरिद गरेर अन्तराष्ट्रिय बजारसम्म पुर्याउन समस्या भएकोवेला व्यवसायीले संघ बनाएका थिए ।
विमली आफू नेपालबाट सबैभन्दा वढी विदेश निर्यात गर्ने भएकाले आफ्नो दावी पुग्ने बताएका छन् । उनी अघिल्लो अधिवेशनका प्रतिस्पर्धी पनि हुन् । नेपालले आफू संस्थापक अध्यक्ष भएको, वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पनि पुरा गरिसकेको र उद्योग वाणिज्य सङ्घमा आवद्ध हुँदा तपाईँहरू नेतृत्व गर्नुहोस् अहिले म अर्को जिम्मेवारीमा छु भनेकाले यस पटक आफ्नो दावी पुग्ने बताएका छन् । चिमरियाले आफू संगठनकालागि अलैँची उत्पादन हुने सबै जिल्लामा पुगेको र नेपाल र बिमली उद्योग वाणिज्य सङ्घ, चेम्बर अफ कमर्समा नेतृत्व गरिसकेकाले यस पटक आफू हुनुपर्ने दावी गरे । ‘उहाँहरू वाणिज्य सङ्घ, चेम्बर अफ कमर्समा गइसक्नु भयो । यो वस्तुगत संघ मात्रै हो । उहाहरुकालागि प्रधानमन्त्री भएर फेरी मन्त्री हुनु जस्तै हो । त्यसैले मेरो नेतृत्वमा सहमति हुन्छ भन्ने लागेको छ’ चिमरियाले भने ।