

ताप्लेजुङ — झिपिकझिपिक बिजुली जाने समस्याबाट आजित उपभोक्ताहरूले आइतबार विद्युत् प्राधिकरण ताप्लेजुङको ध्यानाकर्षण गराएका छन् ।
पाथीभरा बहुमुखी क्याम्पस सञ्चालन समितिका अध्यक्ष एवं काँग्रेस नेता शिला इजम, निर्माण व्यवसायी तरुण दलका केन्द्रीय सदस्य उदय आङबुहाङ, फक्ताङलुङ गाउँपालिका उपाध्यक्ष विकास साम्रालगायत २१ जनाले बिजुलीको भरपर्दो व्यवस्थापनको माग गर्दै विद्युत वितरण केन्द्र ताप्लेजुङमा ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
जिल्लामा राष्ट्रिय प्रसारण लाइन विस्तार भइरहँदा पोल लडेको, तार लत्रिएको जस्ता दृश्य यत्रतत्र देखिएको र त्यसबाट जनधनको क्षति हुने भएकाले गम्भीर भइदिन कार्यालयलाई अनुरोध गरिएको छ । बिजुलीको तार लत्रिएका कारण पाथीभरा जाँदै गरेका तीर्थयात्रीले ज्यान गुमाएको, आठराईत्रिवेणीमा घाँस काट्न जङ्गल गएकी महिलाको करेन्ट लागेर ज्यान गएकोजस्ता घटना स्मरण गराउँदै पछिल्ला वर्ष हरेकजसो आगलागीका घटना विद्युत्का कारण भइरहेकाले यसको निरुपणका लागि गम्भीर बन्न कार्यालयलाई अनुरोध गरिएको छ ।
ज्ञापनपत्र निमित्त कार्यालय प्रमुख सुमित चौधरीले बुझेका थिए । हाई भोल्टेजजस्ता कारण उपभोक्ताकहाँ घरायसी सामान दिनानुदिन बिग्रिएको, भान्सामा हुने गृहिणीलाई करेन्ट लाग्ने जोखिम रहेको जस्ता कारणले गम्भीर अवस्था सिर्जना भएको उल्लेख गरिएको छ । राष्ट्रिय प्रसारण लाइन जोडिनुअघिसम्म सबैभन्दा महँगो विद्युत् उपभोग गरेका जिल्लाका उपभोक्ता विद्युत् सेवा लिन पाउँदा गौरवान्वित भएपनि मानवीय, सरसामानको क्षति जस्ता कारण पीडामा रहेको प्रस्ट्याइएको छ ।
कार्यालय प्रमुख चौधरीले व्यवस्थापनका लागि कार्यालयको तर्फबाट हरदम प्रयत्न भइरहेको दाबी गरेका छन् ।