२८ आश्विन २०८३, बिहिबार

सेवाग्राही खोज्दै काठमाण्डौमा ओलाङचुङगोलाका वडाध्यक्ष

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस आइतबार, साउन २५, २०८२
इकान्तिपुर अनलाइनवाट साभार समाचार

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका धेरैजसो वृद्धवृद्धा काठमाडौंमा बस्छन् । उनीहरूले सामाजिक सुरक्षा भत्ता भने वडा कार्यालय ओलाङचुङगोलाबाट बुझ्छन् । बैंकिङ प्रक्रियाबाट मिल्ने भएकाले चौमासिक सुविधा काठमाडौंको बैंकबाटै लिने गरेका छन् ।

यस वर्ष सामाजिक सुरक्षा भत्ता प्राप्तिका लागि राष्ट्रिय परिचय पत्र र बायोमेट्रिक अनिवार्य गरिएको छ । अधिकांशले परिचय पत्र जिल्ला प्रशासन कार्यालय ताप्लेजुङमै आएर बनाइसकेका छन् । बायोमेट्रिकका लागि भने वडाध्यक्ष छेतेन शेर्पा लामा कम्प्युटरलगायतका सामग्री लिएर सेवाग्राही भएको काठमाडौंमै पुगेका छन् । काठमाडौंको बौद्ध नयाँबस्तीस्थित ओलाङचुङ समाज कल्याणको भवनमा बसेर सेवा प्रवाह दिँदै अएका छन् ।

वडाध्यक्ष छेतेनका अनुसार यो वडाबाट सामाजिक सुरक्षा भत्ता लिने ५२ जना छन् । तीमध्ये २२ जना काठमाडौंमा छन् । ‘काठमाडौंमा भएका केहीको बौद्धमा घर छ । केही भाडामा बसेका छन् । उनीहरू सबैजसो नियमित औषधि खाइरहेका बिरामी छन् । स्वास्थ्य जाँच पनि नियमित गराउनुपर्छ,’ वडाध्यक्ष छेतेनले भने, ‘ओलाङचुङगोलामा उनीहरूको स्वास्थ्य उपचारको सुविधा छैन । सदरमुकाम फुङलिङ लैजान दुई दिन बोकाएर पुर्‍याउनुपर्छ । अहिले गाउँमा बोकेर ल्याउने मान्छे पनि छैनन् । त्यसैले काठमाडौं बस्नैपर्ने बाध्यतामा छन् ।’नियमित औषधि खाइरहेका बिरामी छन्, स्वास्थ्य जाँच पनि नियमित गराउनुपर्छ, त्यसैले काठमाडौं बस्नैपर्ने बाध्यता भएका उनीहरुलाई त्यहीं पुगेर सेवा दिएका छौं – छेतेन शेर्पा लामा, वडाध्यक्ष, फक्ताङलुङ–७ ओलाङचुङगोला

काठमाडौंमा घर भएका पनि बसाइँसराइ लैजान नमान्ने गरेको उनले सुनाए । ओलाङचुङगोलाकै भएर मर्छौं भन्ने धेरै रहेको वडाध्यक्ष छेतेनको दाबी छ । ‘कतिपय त बसाइँसराइ ल्याउनुभन्दा भत्ता खाँदैनौ होस् बरु भन्ने पनि छन्, गाउँमै जान्छौं भन्छन् तर स्वास्थ्यले साथ दिँदैन,’ छेतेनले भने, ‘उनीहरुलाई काठमाडौंमै आएर सेवा दिएका छौं ।’ आफ्नो वडाको मात्रै सचिव नभएकाले ल्यापटप, बायोमेट्रिक गराउने सामग्री बोकेर हिँडेको उनले वताए । पालिकामा एक जना सचिवले धेरैवटा वडा हेर्नुपर्छ । वडासचिवले गर्ने काम आफूले पनि जान्ने भएकाले बायोमेट्रिक गराउन आफू स्वयं काठमाडौंमा पुगेको उनले बताए ।

Himalayan municipality looking for customers in Kathmanduकाठमाडौंको बौद्ध नयाँबस्तीमा ओलाङचुङगोलाको शिविर

 चीन सीमावर्ती क्षेत्र ओलाङचुङगोलामा मोटरबाटो पुगे पनि बर्खा सुरु भएपछि अहिले लेलेपदेखि माथि गाडी जाँदैन । ओलाङचुङगोलाबाट याङमा पुग्न हिँड्न सक्नेलाई दिनभर लाग्छ । फक्ताङलुङ–७ मा दुईवटा मात्रै बस्ती छन् । सबैभन्दा टाढाको याङमामा ११ र ओलाङचुङगोलामा ५६ घर छन् । यो वडामा सर्वसम्मत निर्णय गरेर वडाध्यक्ष र सदस्यहरु स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएर निर्वाचित भएका हुन् ।
                                                                                                                                              इकान्तिपुर अनलाइनवाट साभार समाचार

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066