

- ताप्लेजुङ गोल्डकपको तेस्रो संस्करण शनिबारदेखि फुङलिङमा सुरु हुँदैछ।
- उद्घाटन खेलमा तेल्लोक स्पोर्टिङ क्लब र द योङ ब्रदर्स क्लबबीच प्रतिस्पर्धा हुनेछ।
- प्रतियोगितामा आठ टिमको सहभागिता रहनेछ र विजेताले ७ लाख २ हजार ८२ रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्नेछन्।
ताप्लेजुङ — लाखे जात्रा पर्वको अवसरमा ताप्लेजुङ गोल्डकपको तेस्रो संस्करण सदरमुकाम फुङलिङको भानुजन माध्यमिक विद्यालयको मैदानमा शनिबारदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजकको तर्फबाट तेल्लोक स्पोर्टिङ क्लब ताप्लेजुङ र सुनसरी इटहरीको द योङ ब्रदर्स क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
आयोजकको तर्फबाट सहभागिता जनाउने तेल्लोकले दुई विदेशी खेलाडी फोफोना र स्यामुइललाई भित्र्याएको छ भने जीवन गुरुङ, सञ्जय श्रेष्ठ, रुपेश केसी लगायत छ जनालाई अनुबन्ध गरेको छ । उनीहरू विभिन्न क्लबबाट खेलिरहेका छन् भने बाँकी खेलाडी जिल्लाका हुनेछन् । ब्रदर्स क्लबबाट थ्रिस्टारका प्रवेश बस्नेत, पुलिस क्लबका शिशिर चौधरी, इटहरीका रमेश राजवंशी, योगेन कार्की, सञ्जय धिमाल, युवराज थापा, निशान थापा मगर लगायतले खेल्नेछन् ।
सदरमुकाम फुङलिङदेखि झन्डै एक दिनको पैदलमा रहेको तेल्लोकले आयोजकको तर्फबाट खेलेर पहिलो पटक फाइनल उतार्ने लक्ष्य लिएको क्लबका अध्यक्ष अर्जुन भट्टराईले बताएका छन् । त्यसैका लागि ए डिभिजन खेलेका छ जना र बाँकी ताप्लेजुङका खेलाडी तयार पारिएको उनको भनाइ छ । इटहरीका प्रशिक्षक समर्पण मगरले पनि आफूहरू उद्घाटन खेल जित्ने र त्यसपछिको रणनीति बनाउने दाबी गरे । पहिलो चरणको दोस्रो खेल आइतबार सहारा क्लब पोखरा र रेड स्टार फुटबल क्लब झापाबीच हुनेछ । पोखराको सहारा क्बलको टिम पनि शुक्रबार ताप्लेजुङ पुगिसकेको छ । पहिलो चरणको तेस्रो खेल लिजेन्ड फुटबल एकेडेमी सिलगुडी भारत र चर्चब्वाइज क्लब काठमाडौंबीच हुनेछ भने पहिलो चरणको अन्तिम खेल साउन २७ गते सलहेश युवा क्लब सिराहा र फिदिम स्पोर्टिङ क्लब पाँचथरबीच हुनेछ ।
बागमती, गण्डकी, मधेश प्रदेश, भारत र कोशी प्रदेशका गरी आठ टिमको सहभागिता रहने छ । यस वर्षको प्रतियोगितामा गत वर्षको उपविजेता सलहेश बाहेक सबै नयाँ टिम मैदानमा उत्रँदैछन् । विजेताले ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । विधागततर्फ सर्वोत्कृष्ट खेलाडीलाई यमाहाको एउटा बाइक प्रदान गरिने छ । सर्वाधिक गोलकर्ता, उत्कृष्ट फरवार्ड, नव उदयमान, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट कोचलाई १५ हजारका दरले पुरस्कृत गरिने लाखेजात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेनले जानकारी दिए । हरेक दिनको म्यान अफ दि म्याच बन्नेले ७ हजारका दरले पुरस्कार प्राप्त गर्ने छन् ।
क्वाटर फाइनलसम्मको खेलका लागि टिकट दर एक सय, सेमिफाइनलमा दुई सय र फाइनलका लागि दुई सय ५० रुपैयाँ राखिएको छ । १० वर्षमुनिका बालबालिका तथा ज्येष्ठ नागरिकलाई निःशुल्क मैदान प्रवेश गराइने आयोजकले बताएका छन् । खेलाडी र रेफ्रीको एक लाखका दरले बिमा गरिएको छ । श्याम दनुवारको नेतृत्वमा आठ जनाको रेफ्री टोली प्रतियोगिता गराउन मैदानमा उत्रने आयोजकले जानकारी दिएका छन् । प्रतियोगितामा ६४ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । फाइनल खेल साउन ३१ गते हुनेछ ।