

ताप्लेजुङ – तेल्लोक स्पोर्टिङ क्लबबाट खेल्न लागेका विदेशी फोफोना सहितका खेलाडी मैदानमा उतार्ने तयारीमा थियो द योङ ब्रदर्श क्बल इटहरी तेश्रो ताप्लेजुङ गोल्डकपमा । तर आयोजकको तर्फबाट तेल्लोक स्पोर्टिङ क्लबले उनलाई अनुवन्ध गरेपछि इटहरीले नेपाली खेलाडीको टोली तयार पारिरहेको छ ।
शनिबारको उद्घाटन खेलकालागि शुक्रबार बिहान तमोर करिडोरको बाटो भएर ताप्लेजुङ आउन लागेको इटहरीले केही खेलाडीको टुङ्गो लगाइसकेको छ । थ्रिस्टार क्बलबाट खेलेका प्रवेश बस्नेत, नेपाल पुलिस क्लबका डिफेन्डर शिशिर चौधरी र पुलिस क्लबकै अर्का खेलाडी अनुबन्ध भइसकेका छन् । टिम प्रशिक्षक समर्पण मगर (विमल) का अनुसार इटहरीका रमेश राजवंशी, योगेन्द्र कार्की, सञ्जय धिमाल र युवराज थापा टिममा छन् । विराटनगरका निशान थापा मगर गोल किपरको रुपमा रहेका छन् ।
गतवर्ष सुनसरीको भरौल गोल्डकपको उपाधि जितेको इटहरीका आधा खेलाडी तेह्रथुमको छथरमा भइरहेको प्रतियोगितामा छन् । बिहीबारको खेलबाट फाइनल प्रवेश गरे उनीहरू शुक्रबारको खेल सकेर रातारात सिधै ताप्लेजुङ आउने छन । फाइनलमा नपुगे शुक्रबार दिउसो नै ताप्लेजुङ आइपुग्छन् । प्रशिक्षक मगरले भने, ‘पहिलो खेलका लगि काठमाण्डौ, इटहरी, मोरङ, सुनसरीका खेलाडी भेला गराएका छौँ, सेमिफाइनल पुगे सिक्किम गएका खेलाडी आइपुग्छन् र टिम मजबुत बलियो हुन्छ ।’
उद्घाटन खेलकालागि उनले विदेशी खेलाडी फोफोनासँग कुरा गरेका थिए । तर उनले अनुबन्ध गर्न नपाउँदै आयोजकले लिखित सम्झौता गरेपछि अरु खेलाडि खोज्नु परेको हो । नेपालका धेरैजसो व्यवसायिक खेलाडी यतिबेला सिक्किममा व्यस्त छन् । त्यहाँ एउटै खेलाडीले दैनिक २ वटा सम्म खेल खेल्छन् । आयोजक तेल्लोक ताप्लेजुङले राम्रा खेलाडी मैदान उतार्ने भएपछि इटहरी यतिबेला दबाबमा परेको छ । तेल्लोकले भने ४ जना राष्ट्रिय, २ जना विदेशी र बाँकी ताप्लेजुङका अनुभवी खेलाडी मैदान उतार्ने तयारी गरेको छ ।
अध्यक्ष अर्जुन भट्टराई फाइनल उतार्नेसम्मको तयारी भएको बताउँछन् ।