

ताप्लेजुङ – साउन महिनामा मात्रै ताप्लेजुङमा पाँच जनामा डेङ्गु सङ्क्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयले हरेक शुक्रबार बिहान सरकारी र सङ्घसंस्थाको कार्यालय र आसपासका क्षेत्रमा अनिवार्य सरसफाइ अभियान चलाउन निर्देशन जारी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा बुधवार दिउसो भएको डेङ्गी सङ्क्रमण रोकथाम सम्बन्धी अभिभुखिकरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले साउन र भदौ दुई महिनाका लागि यो अभियान चलाउनै पर्ने भएको बताएका हुन् । प्रमुख जिल्ला अधिकारीले कार्यालय प्रमुखलाई सरसफाइको भिडियो पठाउन पनि निर्देशन दिए ।
यसको प्रारम्भ बिहीबार बिहान सदरमुकाम फुङलिङको प्रवेशद्वार हेलिप्याडको सशस्त्र प्रहरीको जाँच बिन्दुबाट सुरु गरिनेपनि शर्माले जानकारी दिए । डेङ्गु सङ्क्रमणको जोखिमबाट ताप्लेजुङपनि मुक्त नभएकाले जनप्रतिनिधि, राजनीतिक दल, सर्वसाधारण नागरिक सबैको सक्रियतामा यसको रोकथाममा लाग्ने प्रण पनि गरिएको छ ।