

ताप्लेजुङ – फक्ताङलुङ गाउँपालिका ५ तापेथोक र ६ लेलेप जोड्ने तमोर नदी माथिको बेलिब्रिज निर्माणका लागि जिल्ला विपत व्यवस्थापन समितिले दुई विकल्प अघि सारेको छ । विपत व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले दुई पटक त्यस क्षेत्रको अवलोकन गरेपछि यी विकल्पका विषयमा छलफल भइरहेको बताएका छन् ।
पहिलो विकल्पको रुपमा अहिले बेलिब्रिज बगाएको स्थानबाट करिव दुई किलोमिटर दूरीमा तमोर फाइभ हाइड्रो पावरले आफ्नो प्रयोजनका लागि बनाएको बेलिब्रिज रहेको छ । यसलाई प्रयोग गर्नेगरी लेलेप तर्फ नयाँ सडक निर्माण गर्नु पर्छ । यसले कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन कार्यालयको भवनमा सडक जोडिन्छ । दोश्रो विकल्प अहिले बगाएको क्षेत्रको आसपास सुरक्षित स्थानको पहिचान गरी बेलिब्रिज निर्माण गर्नुपर्ने ।
फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बू पहिलो विकल्पको विषयमा छलफल भइरहेको बताउँछन् । तापेथोक तर्फको ताक्मावादेखि लेलेप तर्फको फेम्बु जाने बेलिब्रिजलाई प्रयोग गर्ने विधि चाँडो हुने उनले बताए । अध्यक्षका अनुसार पुलदेखि कञ्चनजङ्घाको कार्यालयसम्मको सडक भने अढाई देखि तीन किलोमिटर सम्म ट्रयाक खोल्नु पर्छ । यसकालागि समय लाग्ने तर बेलिब्रिज निर्माणको तुलनामा कम लागत र वढी उपयोगी हुनसक्ने उनले बताए ।
बेलिब्रिज बगाएपछि ठप्प भएको यातायात सञ्चालनका लागि सम्बन्धित वडाका वडाध्यक्षहरू, गाउँपालिका, कञ्चनजङ्घा संरक्षण क्षेत्र, हाइड्रो पावरबीच समन्वय र सहकार्य हुन जरुरी रहेको छ । गाउँपालिका अध्यक्ष र वडाध्यक्षलेपनि यसमा समन्वय गरिरहनु भएको छ, विपत् व्यवस्थापन समितिका संयोजक शर्माले भने, आवश्यक परेको खण्डमा हामीलेपनि समन्वय गछौँ । बर्खा सकिदाँ बेलिब्रिज बनाउने यात सडकको ट्रयाक खोल्ने भन्ने निष्कर्षमा पुग्ने शर्माको कथन छ ।