

ताप्लेजुङ — सदरमुकाम फुङलिङको हेलिप्याडलाइनमा रहेको ताप्लेजुङ बाइकर्स जोन मोटरसाइकल वर्कसपमा आगलागी भएको छ ।
ग्यारेजमा मंगलबार दिउँसो ४ बजेतिर आगलागी भएको हो । आगो तोक्मेडाँडामा रहेको नेपाली सेनाको गुल्मबाट खटिएको टोली, प्रहरीको टोली र फुङलिङ नगरपालिकाको दमकलसहितको जनशक्तिले तत्कालै निभाएको थियो ।
आगलागी सुरु भएको २०/२५ मिनेटमै नियन्त्रणमा लिइएकाले क्षति धेरै हुन नपाएको स्थानीयले बताएका छन् । क्षतिको यकिन विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए ।
बाइक बनाउने क्रममा आगो झिल्को निस्केको र नजिक रहेको पेट्रोल, डिजेललगायतका प्रज्वलनशील वस्तुमा सल्किन पुगेर आगलागी भएको हुनसक्ने स्थानीयको अनुमान छ ।