

ताप्लेजुङ – एकपछि अर्को घटना दोहोरिएपछि जिल्ला प्रहरी कार्यालयले कफी हाउस क्षेत्रमा निगरानी बढाएको छ । बालबालिकामा समेत मुस्ताङे रक्सी सेवन बढेको पाइएकोले निगरानी बढाइएको र यसलाई नियन्त्रण गर्ने प्रहरी नायब उपरीक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।
‘कफीमा मिसाएर खाने र गुलियो भएपछि वढी सेवन गर्ने गरेको पाइयो,’ गौतमले भने, ‘यसका कारण निकै ठूला घटना भइसकेकाले यसप्रति कठोर हुनुपर्ने अवस्था सृजना भएको हो ।’ १८ वर्ष मुनिका बालबालिकालाई मदिराजन्य वस्तु बिक्री गर्न पाइन्न, तर यसमा व्यवसायी सबक नभएकालेपनि प्रहरीले निगरानी बढाउनु परेको गौतमको दावी छ ।
सदरमुकाम फुङलिङमा मेला, पर्व सुरु हुँदैंगर्दा हुने हिंसात्मक घटनाप्रति प्रहरी गम्भीर बनेको हो । लाखे जात्रा पर्वसँगै सदरमुकाममा चहलपहल बढ्छ । अहिले मिनीमेला सुरु भइसकेको छ । जात्रा सकिएपछि तिज आउँछ । त्यसपछि दशैं तिहार सुरु हुन्छ । यी सबै मेलामा मानिसका गतिविधि बढ्ने भएकाले प्रहरीलेपनि सकृयता बढाउने गरेको छ ।
घोटेको कफीले प्रख्यात भएको क्षेत्रमा पछिल्ला वर्ष झानेको र मुस्ताङे रक्सीको प्रयोग वढी भएको बुझाई प्रहरीको छ ।