

ताप्लेजुङ – सवारी दुर्घटनामा परी शिक्षकको मृत्यु भएपछि सिरिजङ्गा गाउँपालिकाले पालिकाभरीका विद्यालयमा सोमबार एक दिनकालागि शोक बिदा दिएको छ । सिरिजङ्गा गाउँपालिका ३ सिकैचामा रहेको सरस्वती माध्यमिक विद्यालयमा प्राथमिक तह तृतीयमा कार्यरत भावना रसाइलीको विद्यालय जाने क्रममा आइतबार बिहान मृत्यु भएको थियो ।
गतवर्ष शिक्षक सेवा आयोग उर्तिण गरी कार्यरत उनको निधनपछि गाउँपालिका अध्यक्ष स्तरीय निर्णयबाट पालिकाका सबै सामुदायिक र संस्थागत विद्यालयमा बिदा दिइएको अधिकृत श्यामप्रसाद खतिवडाले जानकारी दिए ।
आइतबार बिहान सदरमुकाम फुङलिङबाट सिकैचा जाँदै गरेको बोलेरो जिप फुङलिङ नगरपालिका ११ फावाखोलामा ब्रेक फेल भइ दुर्घटना भएको थियो । दुर्घटनामा परी भावनाको जिल्ला अस्पताल लैजादैंगर्दा बाटोमा मृत्यु भएको थियो । घाइते चालकलाई उपचारकालागि झापा लगिएको छ ।