

ताप्लेजुङ – अम्रिसो बिक्रीबाट आर्थिक वर्ष २०८०/८१ मा एक अर्ब १२ करोड ४६ लाख रुपैयाँ भित्रिएको मेची भन्सार नाकाबाट पछिल्लो आर्थिक वर्ष ०८१/०८२ मा ९५ करोड ६६ लाख ७५ हजार रुपैयाँ मात्रै भित्रिएको छ । निर्यात परिमाण भने आय बढी भएको वर्षको तुलनामा कम आय भएको बर्स वढी रहेको छ ।
मेची भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष ०८१/०८२ मा एक करोड २४ लाख सात हजार पाँचसय ९० किलो अम्रिसो भारत निर्यात भएको छ । यसको अघिल्लो आर्थिक वर्ष एक करोड १४ लाख एक सय किलो निर्यात भएको थियो । परिमाणको हिसाबले पछिल्लो आर्थिक वर्ष १० लाख किलो वढी निर्यात भएको तर मूल्यका हिसाबले १७ करोड रुपैयाँ कमी छ ।
अम्रिसो व्यवसायी सङ्घका अध्यक्ष राजकुमार कार्की पछिल्लो वर्ष मूल्य कम भएको बताउँछन् । ‘अघिल्लो आर्थिक वर्षमा ८० रुपैयाँ किलो न्यूनतम मूल्य थियो,’ उनले भने, ‘पछिल्लो वर्ष अधिकतम मूल्य ८० पनि पुगेन ।’ भारतमा उत्पादन अधिक हुन थालेकाले नेपाली अम्रिसोले मूल्य नपाएको कार्की बताउँछन् । ‘यो अन्तराष्ट्रिय वजार हो, कहिले ह्वात्तै मूल्य आउँछ कहिले स्वाट्टै घट्छ यसको भर भएन’ उनले भने ।
९० प्रतिशत अम्रिसो मेची भन्सारबाट भारत जाने गरेको उनले बताए । कुचोको रुपमा प्रयोग हुने अम्रिसो एक वर्षदेखि अर्को बर्स रहँदैन । किसानका अनुसार झर्ने, वेट नहुने जस्ता समस्या हुने गरेको छ । जसका कारण व्यापारीले किन्न मान्दैनन् र उत्पादन तथा बिक्री गर्ने किसानलाई पनि फाइदा हुँदैन।