

ताप्लेजुङ – नेकपा एमाले ताप्लेजुङमा अघिल्लो अधिवेशनको तुलनामा दुई हजार चार सय १६ पार्टी सङ्गठित सदस्य सङ्ख्या वृद्धि भएको छ । जिल्ला कमिटी ताप्लेजुङका अनुसार असार मसान्तसम्म नयाँ सदस्यता र नवीकरण समेत गरी सात हजार ९३ पुगेको हो । गत अधिवेशन सम्म चार हजार छ सय ७७ रहेको थियो ।
एमालेको सङ्गठित सदस्य हुन क्रियाशील कार्यकर्ता हुनुपर्छ । माथिल्लो निकायले सङ्गठित सदस्यका लागि योग्य ठहर्याएको हुन जरुरी छ । वार्षिक दुई सय २० रुपैयाँ लेबी शुल्क बुझाउनु पर्छ । एमाले उच्च स्रोतका अनुसार एमालेबाट विभाजित भएको नेकपा एस र नयाँ शत्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीको जिम्मेवारीमा रहेकाले पनि सदस्यता नवीकरणका लागि अनुरोध गरेका छन् । अनुरोध गरेका मध्ये केहीको नवीकरण पनि भएको ति नेताले बताए ।
उनीहरूको नवीकरणका विषयमा भने हाल स्वास्थ्यलाभ लिइरहेका जिल्ला कमिटी अध्यक्ष डम्बरध्वज तुम्वाहाम्फेसँग पनि परामर्श भएको थियो । उनीहरूको नामभने खुलाइएको छैन । नेकपा एसमा कार्यरत रहेका तर यता नवीकरण गरेका एक सदस्यको अनलाइनमा विवरण देखिएपनि अर्का सदस्यको नदेखिएकाले नाम गोप्य रहेको उल्लेख छ ।