०६ साउन २०८२, मंगलबार

दुःख दिईरहने हेवा

Logo
Taplejung Press, ताप्लेजुङ प्रेस मंगलबार, साउन ०६, २०८२

गिरिराज बाँस्कोटा

पाँचथर– मेची राजमार्गमा पर्ने हेवा खोलामा बाढीले डाइबर्सन बिगारेपछि करिब ४५ मिनेटको बाटो उकालो–ओरालो गर्दै यात्रा भईरहेको देख्न पाइन्छ । विरामी, वृद्धवृद्धा र केटाकेटीलाई समस्या छ भने गाडी कहिले सञ्चालन हुन्छ भन्ने अन्योलता छ ।

बाढीले २०८० असारमा बगाउनु पूर्वको पुल

बाढीले २०८० असारमा बगाउनु पूर्वको पुल

हेवा खोलको यो दुःख २०८० सालदेखि सुरु भएको हो । २०५१ सालमा बनाइएको ४५ दशमलव ५२ मिटरको पुल २०८० असार पहिलो साता बाढीले बगाएको थियो । बाढीले बगाएपछि २ करोड ३५ लाख खर्चिएर बनाइएको बेलिब्रिज २०८१ असोज–१२ गतेको बाढी बगायो । हेवाको दुखको श्रृखला यतिमै रोकिएन । बेलिब्रिज पनि बगाएपछि ७० मिटर लामो मुडुलर ब्रिज बनाउन काम अघि बढ्यो । काम अन्तिम चरणमा पुगेको बेला जेठ ३१ भाँचिएर तीन जनाको मृत्यु भयो भने तीन जना घाइते भए ।

निर्माण सकिएर सुविधा पाईएला भन्ने आशा पुनः दुखमै परिणत भयो । बेलिब्रिज बगाएपछि डाइबर्सन बनाइएको थियो । पने स्टक पाइप राखेर अर्को डाइबर्सन बनाइएको थियो । आइतवार बिहानैदेखि डाईबर्सन भन्दा माथिबाट बाढी बगीरहेको छ । बाढीको बहाव अत्यधिक रहेकाले कहिले सुचारु गर्न सकिन्छ भन्ने यकिन गर्न नसकिएको पाँचथरका प्रहरी प्रमुख डिएसपि कौशल बुढाथोकीले जानकारी दिए ।

जसले सिङ्गो ताप्लेजुङ जिल्ला र पाँचथरका हिलिहाङ, याङ्वरक र फालेलुङको सडक सम्बन्ध टुटेको छ ।

२०८१ असोजमा आएको बाढी

२०८१ असोजमा आएको बाढी

अस्थायी डाईबर्सन माथि बाढी बढेको छ । अब यहाँबाट गाडी चल्न सम्भावना अन्योल रहेको छ । गाडी खोलाबाट पार हुन् नसकेपछि ४५ मिनेट भन्दा लामो बाटो गर्मिमा हिडेर वारी–पारी गरिरहेका छन् ।

‘म यहाँ बसेको १५ वर्ष भन्दा धेरै भयो । यसरी बाढी आउने गरेको थिएन । तीन बर्ष यतात काबुनै बनायो’ स्थानीय धनमाता गुरुङले भनिन्, ‘सारै दुख भईरहेको छ ।’

मुडुलर ब्रिज पुनः जडानमा अन्योल

जडानको अन्तिम चरणमा भाँचिएको मोडुलर ब्रिज

जडानको अन्तिम चरणमा भाँचिएको मोडुलर ब्रिज

जडानको अन्तिम चरणमा मोडुरल ब्रिज भाँचिएकाले विगतको जस्तै सास्ती फेरी भोग्नु परेको छ । अब यो कहिले बन्ने अन्योल रहेको छ । भारतले ब्रिजका सामाग्री दिएपछि नेपाल सरकारले जडानका लागि ३ करोड ५० लाखमा ठेक्का लगाएको थियो । भाँचिएपछि जोडिएका सामाग्री निकालिएको छ तर पुनः जडानको काम अघि बढेको छैन । काम अघि बढाउनलाई प्रयास भईरहेको सडक डिभिजन कार्यालय इलामका सव–इन्जिनियर सिताराम गौतमले बताए ।

भाँचिएपछि बनेको छानबिन समितिले जोड्न आवश्यक सामग्री, निर्माण विधि, लन्चिङ किट, जडान सम्बन्धी मार्गदर्शन (गाइडलाइन) सहित पुनः जडानका लागि सुझाव दिएको थियो ।

पुल निर्माणनै मुख्य विकल्प भएको पाँचथरका प्रमुख जिल्ला अधिकारी अर्जुन पोखरेलले बताए । पटक पटक अनुरोध गरिरहेपनि काम सन्तोषप्रद नदेखिएको उनले बताए । सडक विभाग अलि गम्भीर रूपमा लागेर चाडैँ सक्नु पर्ने भएपनि त्यस्तो हुन नसकेको उनको भनाई रहेको छ ।

जडानको अन्तिम चरणमा पुगेको मोडुलर ब्रिज

जडानको अन्तिम चरणमा पुगेको मोडुलर ब्रिज

हेवाले अरू बाटोमा पनि पुल बगायो

हेवा खोलामा पर्ने अरू सडकका पुलहरू पनि बगाएको छ । २०८० सालको बाढीले हेवा खोलामा रहेका पाँच वटै पुल बगाएको थियो । हेवाका सबै पुल बगेका हुन् । तमोर करिडाेरको माझीटार नजिकको बेलिब्रिज बगाएको थियो । फालेलुङमा दुईवटा र फिदिममा अर्को पुल पनि बगाएको थियो । सबै पुल पुनः निर्माण हुन सकेका छैनन् ।

 २०८० सालमा पुल बगाएपछि

२०८० सालमा पुल बगाएपछि

विकल्पै भएन

ताप्लेजुङ र पाँचथरका तीन पालिकामा जानका लागि अरू बाटोको विकल्प देखिएको छैन । तमोर करिडोर विकल्प भएपनि खोलामा पुल छन् । विकल्प नभएपछि हिडेर वारिपारी गरिदै छ । बाटो निक्कै अफ्ठ्याराे रहेको छ । विराम, वृद्धवृद्धा, केटाकेटीलाई यात्रा गर्न र समान ओसार पसार गर्न समस्या छ । केही दिन गाडी नचल्ने हो भने अभाव खड्कीनेमा ताप्लेजुङ चिन्तित छन् ।

बाढी हेर्दैै यात्रामा रहेकाहरू

बाढी हेर्दैै यात्रामा रहेकाहरू

न फड्के न, झोलुङ्गेपुल

हेवा खोलामा फड्के वा झोलुङ्गे पुल हुनु हो भने धेरै सहज हुने देखिन्छ । ४५ मिनेटभन्दा लामो हिडेर यात्रा गर्नु पर्ने थिएन । गत वर्षपनि फड्के बनाइएको थियो । फड्केबाट मोटरसाइकल र खोला तर्न सजिलो भएको थियो । सामानपनि फड्केबाटै बोकेर वारपार गरिन्थ्यो । या पल्ट फड्के बनाउने ध्याननै गएको देखिदैन । बर्सेनि बाढीले समस्या पार्ने भएकाले झोलुङ्गे पुल बनाउने तर्फ पनि ध्यान दिएको छैन ।

ताप्लेजुङ तर्फ हिडेकी वृद्धा

ताप्लेजुङ तर्फ हिडेकी वृद्धा

निष्प्रभावी नेताहरू

सरकारले गरेका विभिन्न कामहरूमा आफ्नो पहल भन्न र भन्न लगाउन तम्सिने नेताहरू हेवामा बर्सेनि देखिने समस्या समाधानका लागि प्रयास गर्न सफल भएका छैनन् । मोडुलर ब्रिज भाँचिएपछि सुरक्षित हिसाबले पुनः जडानको काम तत्काल थाल्नका लागि नेताहरूले दबाब दिन सकेका छैनन् । हिडीरहेकाहरूले ताप्लेजुङ र पाँचथरका नेताहरूको चर्को आलोचना गरेको सुन्न पाइन्छ ।

 

गाडी चढ्नलाई हिडेर आउदै

गाडी चढ्नलाई हिडेर आउदै

खोलामा अवरोध भएपछि डब्लु चोकमा जम्मा भएका गाडी । यहिबाट हिडेर ताप्लेजुङ तर्फ जानु पर्छ ।

खोलामा अवरोध भएपछि डब्लु चोकमा जम्मा भएका गाडी । यहिबाट हिडेर ताप्लेजुङ तर्फ जानु पर्छ ।

हेवामा अाएकाे बाढीले डाइबर्सन बिगारेपछि

                                                            पत्रकार गिरिराज बास्कोटाले लेख्नुभएको यो समाचार केन्जो खवर डट कमवाट साभार गरिएको हो ।

प्रतिक्रिया
हाम्रो बारे
  • www.taplejungpress.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको कार्यालय कोशी प्रदेशको ताप्लेजुङ जिल्लामा रहेको छ ।
  • सूचना विभाग दर्ता नं. ४५०९/०८०–०८१
हाम्रो टीम
  • सञ्चालक/सम्पादक
    आनन्द गौतम
सम्पर्क
  • कार्यालय सम्पर्क
    9806048066