

ताप्लेजुङ – ताप्लेजुङसँग प्रत्यक्ष सरोकार राख्ने पाँचथरको हेवाखोलाको पुल आइतबार बिहान आठ बज्दासम्म रह्यो रहेन पत्तो भएको छैन । स्थानीय व्यापारी धनमती मुखिया गुरुङका अनुसार डाइभर्सनको माथि छाल कुदेको र खोलामा गड्याङ गुडुङ आवाज आएको सुनिन्छ । ‘डाइभर्सनको पाइपको माथिबाट बाढी कुद्दैछ, छाल उछालिएको देखिन्छ, डाइभर्सन पनि छ की ग्राभेलमात्र बाकी राखेको छ पत्तै पाउन सकिएन’ उनले भनिन् ।
सडक डिभिजन कार्यालय इलामको पाँचथर खण्ड हेर्ने सुपरभाइजर डम्बर मिश्रपनि खोलाले डाइभर्सनमा कस्तो क्षति पुऱ्यायो पत्तो पाउन नसकिएको बताउँछन । ‘फलामको पाइपचाँही रहेको छ भन्नेमा शङ्का छ,’उनले भने, ‘बरु तल्लो ह्युम पाइपवाला डाइभर्सन चाँहि रहेको छ की जस्तो लागेको छ ।’ खोलामा बाढी बढ्दो क्रममा रहेकाले डाइभर्सन रहन्छ रहन्न यसै भन्न नसकिएको उनले बताए ।
यहाँको बेलिब्रिज निर्माणको क्रममा भाँचिएपछि हाइड्रोपावर सँगको समन्वयमा चारवटा पेनस्टक पाइप लगाइएको थियो ।