

ताप्लेजुङ – नेपाल पत्रकार महासङ्घले सञ्चालन गरेको जनतासँग जनप्रतिनिधि कार्यक्रममा फुङलिङ नगरपालिका ८ का वडाध्यक्ष क्षितिज सुनुवारले भने, ‘म वडाको बजेट सिलिङको विषयमा कुनै बिमति राख्दिनँ, तर नगरपालिका प्रमुख उपप्रमुख सँग भएको बजेट चाही मेरो वडालाई पनि राखेर न्याय गरिदिनु होला ।’ यो विषय उनले नगरपालिका प्रमुख अमिर मादेन, उपप्रमुख भिमादेवी ओझा र प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद गौतम उपस्थित कार्यक्रममा राखेका थिए ।
कोशी प्रदेश र सङ्घीय सरकारसँग हात फैलाएर वडाको विकासमा लगानी गरिरहेका वडाध्यक्ष सुनुवारले वडामा आएको वजेटभने जनताले पाउने प्रत्यक्ष सेवामा लगाउने प्रस्ताव वडा भेलामा राखे । त्यही भेलाबाट पारित गराए ‘वडाका हरेक नागरिकले अस्पताल जानुपर्दा एम्बुलेन्स सेवा निशुल्क पाउने ।’ त्यसकालागि एम्बुलेन्स सन्चालकसँग वार्षिक सम्झौता गरे ।
त्यसको कार्यान्वयन आर्थिक बर्स प्रारम्भ भएकोदिन साउन १ गतेदेखि प्रारम्भ भएको सुनुवारले वताए । सुनुवारका अनुसार १ गतेदेखि आगामी असार मसान्त सम्म ५ वर्ष मुनी र ६० वर्ष माथिका नागरिकले जिल्ला अस्पताल उपचारमा जानकालागि निशुल्क एम्बुलेन्स सेवा पाउने छन् । उमेर हद तोकिएका नागरिकले अस्पताल जानकागि वडाध्यक्ष, वडा सदस्य वा वडा कार्यालयमा सम्पर्क गरे तत्कालै सेवा पाउनेछन् । अन्य नागरिकहरू हिंडेरपनि जानसक्ने भएकाले बालबालिका र वृद्धवृद्धा लक्षित कार्यक्रम राखिएको उनले बताए ।
नगरपालिकाभित्रको भएरपनि वृद्धवृद्धा र बालबालिकालाई अस्पतालको पहुँचमा पुग्न समस्या भएको र कतिपयले खर्चका कारण अस्पताल नगई घरमै हँ हँ गरेर बसेको पाएकाले यस्तो सेवा प्रारम्भ गरिएको क्षितिज बताउँछन । घरमा डाक्टर लैजाने कार्यक्रम राख्दा वर्षमा एक वा दुई पटक मात्रै सम्भव हुने भयो, त्यतिबेला को बिरामी वा सद्दे हुन्थे, बिरामी भएकोबेला अस्पताल आउने सुविधा भए डाक्टरलाई प्रत्यक्ष देखाउन पाउने र परामर्श लिन सक्ने भएकाले यस्तो व्यवस्था गरिएको क्षितिज बताउँछन् ।
अघिल्लो आर्थिक वर्षदेखि वडाका कोही नागरिकको मृत्यु भए किरिया खर्चको सहयोगका लागि १० हजार रुपैयाँ उपलब्ध गराउँदै आएका छन् । यसले घरदेखि घाटसम्म पुर्याउन यातायात सुविधामा पनि सहयोग पुगेको छ । सुत्केरी महिलालाई एउटा कुखुराको भाले, भाले नखानेलाई घिउ, अण्डा र पोसिलो खानेकुरा वडाले उपलब्ध गराउँदै आएको छ ।
यस वडाका हरेक विद्यालयमा सबैभन्दा वढी उपस्थित विद्यार्थीले १५, दोश्रोले १० र तेस्रोलाई ५ हजार रुपैयाँ पुरस्कार पाउदै आएका छन् । सात वटा विद्यालयका २१ जना विद्यार्थी हरेक वर्ष पुरस्कृत हुन्छन् । वडाभरिका वर्षभरी उत्कृष्ट शिक्षण गर्ने शिक्षकहरूलाई समेत वडाले हरेकवर्ष पुरस्कृत गर्दै आएको छ ।
यष आर्थिक वर्षदेखि नयाँ कार्यक्रम थप गरिएको र यसमा चार लाख रुपैयाँ खर्चहुने अनुमान गरिएको सुनुवारले बताए । जनताले रुचाइ र प्रभावकारी भए यसले निरन्तरता पाउने अन्यथा अर्को आर्थिक वर्षदेखि हटाउने उनको कथन छ । नागरिकको सुविधाका कार्यक्रम ल्याउनु परेको वडाध्यक्षको दावी छ ।