

ताप्लेजुङ – सिरिजङ्गा गाउँपालिका ७ खेवाङको साम्दीङ वजारमा दुर्गाकाली मन्दिर पुननिर्माण गरेर खेवाङ प्रहरी चौकीलाई हस्तान्तरण गरिएको छ । पुननिर्माण समितिका संयोजक भानुभक्त ‘उमेश’ गौतमले प्रहरी चौकी खेवाङका इन्चार्ज धनराज तुम्वापोलाई मन्दिरको चाबी हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा स्थानीयको सहभागिता रहेको थियो ।
उमेशका अनुसार २०४५ सालमा भवानी प्रसाद गौतम र लिलादेवी गौतमले प्रहरी चौकी खेवाङलाई दुर्गा मन्दिर सहितको जग्गा निशुल्क प्रदान गरेका थिए । यी दम्पत्तिको निधन भइसकेको छ । धनराज तुम्बापो प्रहरी इन्चार्ज भएर आएपछि उमेश र धनराजबिच मन्दिर जिर्णोद्धारको विषयमा छलफल भएको थियो । त्यसपछि उमेशकै अध्यक्षमा पुननिर्माण समिति बनाइएको सचिव गेहेन्द्र गौतमले वताए । भवानी र लिलाका भतिजाहरू लक्ष्मीप्रसाद र कुमार तथा देवीप्रसाद र सिनाम माविका प्रधानाध्यापक महेन्द्र प्रकाश गौतम समेतको आर्थिक सहयोगमा स्थानीय गौतम परिवारको कृयाशिलतामा मन्दिर जिर्णोद्धार गरिएको उमेशले जानकारी दिए ।
सिमेन्ट, बालुवा, लगायतका सामग्री र तीनवटा मुर्ती समेतकालागि छ लाख भन्दा वढी रकम लागेको गौतम बताउँछन् । प्रहरी हाताभित्रको मन्दीर निर्माण अवधिमा प्रहरीले श्रमदान गरेको इन्चार्ज तुम्बापोले बताए । प्रहरी परिसरमा भएको मन्दिरको स्वामित्व समेत प्रहरीको रहनेगरी सोमबार चाबी हस्तान्तरण गरिएको उमेशले बताए । निर्माण कार्यमा कावेली इनर्जी प्रालिका मोहन बिक्रम कार्कीलेपनि सहयोग पुर्याएका थिए ।