

ताप्लेजुङ – कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले नेपाल फुटबल सङ्घ एन्फासँग दुर्गमका खेलाडी, खेल प्रशिक्षक, रेफ्री र क्लबका लागि विशेष प्याकेज ल्याउन आग्रह गरेका छन् ।
विहीबार एन्फा कम्प्लेक्स सातदोबाटो पुगेका मन्त्री हाङगामले एन्फाका पदाधिकारीलाई यस्तो आग्रह गरेका हुन् । यो अवसरमा एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्बाङ, उपाध्यक्ष दावा लामा, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी सहितका पदाधिकारीले सम्मान गरेका थिए ।
जिल्ला खेलकुद विकास समितिको उपाध्यक्ष समेत भइसकेका तथा फुटबलका खेलाडी मन्त्री हाङगामले फुटबलको क्रेज गाउँगाउँमा भएको तर व्यवस्थापन चुनौतीपूर्ण रहेकाले गाउका खेलाडी खोज्न र गाउँबाटै खेललाई उठाउन एन्फासँग आग्रह गरेको हाङ्गामको सचिवालयले जनाएको छ ।
मेरिङदेन गाउपालिका ४ लिङ्तेपको प्रगतिशील युवा क्बलका संस्थापक अध्यक्ष समेत रहेका हाङगामले खेल सामग्री र पूर्वाधार विकास गर्न सके फुटबलका प्रतिभा गाउमा अधिक रहेको स्मरण गराएका छन् । आगामी साउन २४ गतेदेखि सदरमुकाम फुङलिङको भानुजन माविमा लाखेजात्राको अवसरमा खेलाइने ताप्लेजुङ गोल्डकपलाई विशेष सहयोग गर्नपनि हाङगामले अनुरोध गरेका छन् ।
हाङगामले लाखेजात्राको अवसरमा हुने प्रतियोगितामा आउने दर्शक, फुटबल प्रतिको मोह र दुर्गमको खेलको अवस्थाको विषयमा जानकारी गराएका थिए । एन्फा अध्यक्ष नेम्बाङले कार्यालयमै आएर गराएको ध्यानाकर्षण प्रति मन्त्री हाङगामप्रति आभार व्यक्त गर्दै मायाको चिनो प्रदान गरेका थिए ।