

ताप्लेजुङ – सिनाम माध्यमिक विद्यालयले कक्षा ११ र १२ मा विज्ञान देखि कानुनसम्मको विषय निशुल्क पढाउने भएको छ । प्रधानाध्यापक महेन्द्र प्रकाश गौतमका अनुसार यहा विज्ञान, व्यवस्थापन, शिक्षा, मानविकी र कानुन विषयको पढाइ हुन्छ । यो सिरिजङ्गा गाउँपालिका १ मा रहेको विद्यालय हो ।
एक सय छात्र र एक सय छात्रा गरी दुई सय विद्यार्थीले बस्ने सुविधा पनि निशुल्क पाउने गौतमले बताए । विद्यालयमा छात्र र छात्राका लागि छुट्टाछुट्टै छात्रवास भवन छन् । विद्यार्थीलाई निशुल्क पढाउन हिमाली छात्रवासका नाममा सङ्घीय सरकारले २० जनालाई सहयोग गर्छ । गाउँपालिकाले पनि निशुल्क शिक्षाका लागि केही रकम छुट्याएर सहयोग गर्दै आएको छ । ‘पहिला टिका गुरुङ अध्यक्ष हुँदा सबै विद्यार्थीको शुल्क गाउँपालिकाले दिन्थ्यो,’ सिनाम माविका शिक्षक तुलसी पोख्रेलले भने, ‘पछिल्ला वर्ष गाउँपालिकाका लागि जम्मा १० लाख छुट्याएको हुन्छ सबै विद्यालयलाई वितरण गर्दा हाम्रोमा पनि केही रकम आइपुग्छ ।’ गाउँपालिकाबाट प्राप्त रकम विद्यालयको शुल्क अनुसारचाहिँ नभएको विद्यालयले जनाएको छ ।
यहा तीन वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ र आइएसइएजी विषयको पनि पढाइ हुन्छ । एसइइमा नन ग्रेडिङ ल्याउनेका लागि १८ महिने सिभिल इन्जिनियरिङ र कृषि तर्फ जेटिएको पढाइ हुँदै आएको छ । सिभिल इन्जिनियरिङ र आइएससीएजीका लागिपनि प्रति सेमेस्टर १२ हजार ५ सय मात्रै शुल्क रहेको विद्यालयले जनाएको छ । जेटिए पढ्नकालागि १५ हजार रुपैयाँ भए पुग्छ । प्रधानाध्यापक गौतमका अनुसार विद्यालयमा विज्ञान, गणित अङ्ग्रेजीका विषयगत शिक्षकहरूको पुरा दरबन्दी भएको र प्राविधिक विषय पढाउने शिक्षक विद्यालयमै राख्दा ११ र १२ निशुल्क पढाउन सकिएको हो । भएका शिक्षकलाई अतिरिक्त रकम दिएर विद्यालयले पढाइमा प्रयोग गर्दै आएको छ ।
सङ्घीय सरकारले नमुना विद्यालयको घोषणा गरेको छ । यसले विज्ञानका लाइब्रेरी, भवन लगायतका सहयोग पुगेको छ । छात्रवास र विद्यालय भवनकालागि भारतीय दुतावास र गाउँपालिकाले सहयोग गरेका छन् । हिमाली छात्रवासमा छनौट भएका २० जनाले चाहिँ खानपिन निशुल्क पाउने गौतमले बताए । बाँकी विद्यार्थीले खाने मात्रै व्यवस्थापन गरे शुल्क तिर्नु पर्दैन । यो विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष प्रतिनिधिसभाका सांसद उर्मिला थेवे हुन् । प्रधानाध्यापक गौतम नेपाल शिक्षक सङ्गठनको कोशी प्रदेश अध्यक्ष तथा शिक्षक महासङ्घ ताप्लेजुङको जिला अध्यक्ष हुन् ।
एमालेको भातृ संस्था राष्ट्रिय युवा सङ्घका केन्द्रीय अध्यक्ष क्षितिज थेवेपनि यही गाउँको भएकाले सरकार र दातृ संस्थाबाट पाउने सुविधा विद्यालयमा ल्याउन सहज भएको एक शिक्षक वताउछन् । त्यसले विद्यार्थीलाई निशुल्क पढाउने वातावरण भएको ती शिक्षकले बताए । यहा पढ्नकालागि कोशी प्रदेशको ओखलढुंगा बाहेकका सबै जिल्ला तथा मधेश प्रदेशवाट ठुलो सङ्ख्यामा बिद्यार्थी आएको तथ्यांङक छ । छिमेकी देश भारतको सिक्किमबाट समेत बिद्यार्थी आएका छन् ।
यहा स्नातक तहसम्मको अध्ययन हुन्छ । छात्रवास हुनुभन्दा अघिसम्म पनि यहाका गाउलेहरुले विद्यार्थीलाई बस्न निशुल्क कोठा दिने गरेका थिए । निशुल्क कोठाकालागि गाउलेले सामुहिक निर्णय नै गरेका थिए । यो सदरमुकाम फुङलिङवाट तीन घण्टाको यातायात दुरीमा रहेको छभने पाचथरको याङवरक गाउपालिकासग जोडिएको छ ।