

ताप्लेजुङ – फुङलिङ नगरपालिकाका प्रवक्ता मोहन न्यौपानेले प्रवक्ता र वन वातावरण तथा विपद व्यवस्थापन समिति संयोजक पदबाट राजिनामा दिएका छन् । उनले जेठ २५ गतेनै नगरपालिका प्रमुख अमिर मादेनलाई सम्बोधन गर्दै राजिनामा पत्र पठाएका हुन् ।
न्यौपानेले नगरपालिका प्रमुखले प्राप्त गर्नेगरी इमेल मार्फत राजिनामा पत्र पठाएको पाइएको छ । श्रोतका अनुसार मेलबाट राजिनामा पठाएका उनले नगर प्रमुखको सचिवालयमा कार्यरतलाई मेल खोल्न लगाएर प्रिन्ट गराई नगर प्रमुखकोमा टेबल गर्न लगाएका थिए ।
स्थानीय तहका जनप्रतिनिधि खासगरी प्रमुखले आफूले रुचाएको एकजना जनप्रतिनिधिलाई प्रवक्ता तोक्ने प्रावधान रहेको छ । काङ्ग्रेसबाट निर्वाचत मादेनले आफ्नो पाटीबाट निर्वाचितलाई नदिई नेकपा एसबाट निर्वाचित न्यौपानेलाई प्रवक्ताको जिम्मेवारी दिएका थिए । अघिल्लो नगर प्रमुख अर्थात छत्रपति प्याकुरेलको प्रवक्तापनि न्यौपानेनै रहेका थिए । मादेन निर्वाचित भएपछि पनि प्रवक्ताको जिम्मेवारी उनैलाई दिइएको थियो ।
तीन वर्ष काम गरेपछि आएको न्यौपानेको राजिनामामा कुनै कारण खुलाइएको छैन । आफू पदमा रहँदा सहयोग गर्ने नगर प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष, कार्यपालिका सदस्यलाई धन्यवाद दिइएको छ ।