

ताप्लेजुङ — विराटनगरमा सम्पन्न कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताबाट ताप्लेजुङका चार खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् ।
जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अनुसार एथलेटिक्स तर्फको तीन हजार मिटर र आठ सय मिटर दौड तथा कबड्डी र भलिबल प्रतियोगिताका लागि छनोट भएका हुन् ।
छनोट हुनेमा मैवाखोला गाउँपालिकाका दुई, फुङलिङ नगरपालिका र मेरिङदेन गाउँपालिकाका एक एकजना खेलाडी रहेको जिल्ला खेलकुद विकास समिति ताप्लेजुङका अध्यक्ष नरेन्द्र मावो गणेशले जानकारी दिए ।
मावोका अनुसार तीन हजार मिटर दौडमा मैवाखोलाका समिरले कोशी प्रदेश स्तरीय प्रतियोगितामा स्वर्ण जिते भने उनै समिरले १५ सय मिटरमा भने रजत पदकमा चिक्त बुझाउनुपर्यो । राष्ट्रिय प्रतियोगिताको तीन हजार मिटर दौडका लागि उनी कोशी प्रदेशबाट छनोट भए ।
कवड्डी प्रतियोगिताका लागि पनि मैवाखोलाकै मनिता तामाङ राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएकी छन् । आठसय र चार सय मिटर गरी दुई विधामा रजत पदक जितेका फुङलिङ नगरपालिकाका सविन विश्वकर्मा पनि राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका छन् ।
उनले राष्ट्रिय प्रतियोगितामा एउटा विधावाट प्रतिस्पर्धा गर्न सक्ने अध्यक्ष मावो बताउँछन् । भलिबल प्रतियोगिताका लागि मेरिङदेन गाउपालिकाका कैलाश लिम्बू छनोट भएका छन् ।
कैलाश लिब्रो खेलाडी हुन् । राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका खेलाडीलाई विराटनगरबाटै काठमाडौं पठाइएको र बाँकी खेलाडी जिल्ला फर्किएको जिल्ला खेलकुद विकास समितिका अधिकृत यज्ञनिधि पौडेल बताउँछन् । राष्ट्रिय प्रतियोगिता जेठ २८ देखि ३० गतेसम्म काठमाण्डौंमा हुँदै छ ।
छ वटा विधामा प्रतिस्पर्धा गरेको ताप्लेजुङले एक स्वर्ण, छ रजत र चार कास्यसहित ११ पदक जितेर फर्किएको छ । अध्यक्ष मावोका अनुसार एथलेटिक्स तर्फको स्वर्ण समिरले जितेका हुन् भने १५ सय मिटरको रजत पनि उनैले जितेर दुई पदक भित्र्याए । सविनले चार सय र आठ सय मिटर दौडमा दुईवटा रजत जिते ।
त्रिपलजंगमा राजन विश्वकर्मा, तेक्वान्दो ५२ केजीमा मिङमा फुटि शेर्पा, उसु ४२ केजी सान्सोमा मौषम लिम्बूले ताप्लेजुङका लागि रजत पदक भित्र्याए । कास्य पदक जित्नेमा तेक्वान्दो पुन्से अन्तगर्त भेनाइन शेर्पा, सितेरियो कराते कातामा सुहाङ लिम्बू, ४५ केजी उसुमा सरोज लिम्बू र दावा शेर्पा रहेको खेलकुद विकास समितिले जनाएको छ । प्रतियोगिता जेठ २४ देखि २६ गतेसम्म विराटनगरमा भएको थियो ।