

ताप्लेजुङ – हिउँदमा अधिक चिसो हुने धार्मिक पर्यटकीय स्थल सिदिङ्वा धामको प्रचार प्रशारकालागि ‘प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव २०८२’ हुने भएको छ । सिदिङ्वा गाउँपालिकाले जेठ १५ देखि १७ गतेसम्म तीन दिने धार्मिक पर्यटन महोत्सव गर्ने भएको हो । ३ हजार ५ सय १५ मिटर उचाइमा रहेको यहा कला, साहित्य, सृजना, खेलकुद सहितका कार्यक्रम सहित महोत्सव हुने भएको हो । ‘यो गाउँपालिकामा ढङ्ढङ्गे झरना, तिम्बुङ पोखरी, चमेरे गुफा र सिदिङ्वाधाम गरी चारवटा मुख्य पर्यटकीय स्थल छन्,’ गाउँपालिका अध्यक्ष मानबहादुर राईले भने, ‘यीनको प्रचार र प्रवर्द्धन गरेर पर्यटक भित्र्याउनु पर्ने दायित्व गाउँपालिकाको छ ।’
फागुन महिनासम्म चिसोका कारण गर्न नसकिएको र त्यसपछिका दुई महिना पालिकाका आफ्नै कार्यक्रमहरू धेरै भएकाले जेष्ठमा भएपनि गर्ने तयारी गरिएको उनले बताए । भारतको सिक्किमसँगको सीमावर्ती गाउँ भएकाले भारतदेखिका मानिस महोत्सवमा आउने गरिको तयारी गाउँपालिकाले गरेको छ । महोत्सवमार्फत जैविक विविधताको संरक्षण, ग्रामीण तथा अन्तराष्ट्रिय पर्यटनको विकास र सांस्कृतिक सम्पदाको प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षापनि राखिएको गाउँपालिका अध्यक्ष राई बताउँछन् ।
पाथीभरा पछिका धेरै तीर्थयात्री आउने भएकाले पूर्वी नेपालको धार्मिक पर्यटन विकासमा टेवा पुग्ने अपेक्षा राखिएको राई बताउँछन् । सिदिङ्वा धाम कञ्चनजङ्घा पदयात्राको मुख्य प्रवेश मार्गका रूपमा रहेको छ । तीन दिने पर्यटन महोत्सवमा सिदिङ्वाधाम दर्शन यात्रा, भलिबल प्रतियोगिता, स्थानीय उत्पादनको प्रदर्शन, सांस्कृतिक प्रस्तुति लगायतका कार्यक्रम रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकास बिक बताउँछन् । अधिकृत विकका अनुसार म्याराथन लगायतका प्रतियोगिताको तयारी छभने राष्ट्रिय कलाकार आउने छन् ।
भलिबल प्रतियोगिताका विजेताले ५० हजार, उपविजेताले ३० हजार नगद पुरस्कारसहित मेडल प्रमाणपत्र प्राप्त गर्ने छन् । म्याराथनका विजेताले ४०, ३० र २० हजार रुपिया“ नगद पुरस्कार पाउने छन् । महोत्सवमा नौमति बाजा, च्याब्रुङ नाच केःलाङ, साकेला सेलो सहित स्थानीय समुदायमा आधारित संस्कार संस्कृतिको प्रदर्शन हुने गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया बन्दनाले बताइन् । कडरियाका अनुसार हिमाली भेगमा पालिने याक, चौँरी, भेडाको प्रदर्शन लगायतका कार्यक्रम रहेका छन् । स्थानीय उत्पादन तथा हस्तकलाका सामग्रीसमेत प्रदर्शनीमा राखिने छ । महोत्सवका लागि ३८ लाख रुपिया खर्च हुने अनुमान रहेको गाउँपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख भूपेन्द्र बुढाक्षेत्रीले जानकारी दिए ।
पालिका अध्यक्ष राईले आफु अध्यक्ष हुनुभन्दा अघिदेखिको योजना अनुसार महोत्सव गर्न लागेकोपनि वताए ।