

पाँचथर — पाँचथरको हिलिहाङ गाउँपालिकामा वैशाखमा ५ जना नागरिकमा कालाजार पुष्टि भएको छ । वडा नम्बर ४ मा १ तथा ५ र ७ मा २–२ जना गरी ५ जनामा कालाजार पुष्टि भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
अघिल्लो वर्ष यहाँका ४ जनामा कालाजार पुष्टि भएको हिलिहाङका स्वास्थ्य शाखा प्रमूख चन्द्र घिमिरेले जानकारी दिए । स्वास्थ्यकर्मीहरुका अनुसार कालाजार ‘स्यान्ड फ्लाई’ नामक भुसुनाले टोक्दा लाग्ने गर्छ । केही समयअघिसम्म तराईका जिल्लामा मात्रै सीमित यो समस्या पछिल्लो समय पहाडी र हिमाली जिल्लासम्म फैलँदो छ ।
गर्मी ठाउँ रुचाउने स्यान्ड फ्लाई नामक भुसुना गोबरले लिपेका घर, झुपडीका भित्ता र मुसाले खनेको माटोमा बस्ने गर्छन् । यस्ता भुसुनाले टोक्दा लाग्ने कालाजार संक्रमित व्यक्तिलाई टोकेर स्वस्थ व्यक्तिलाई टोक्दा समेत सर्ने गर्छ ।
कालाजार हुँदा दुई साताभन्दा धेरै समय ज्वरो आउने, शरीरको मासु फुस्रो र रगत अभाव हुने लगायतका लक्षण देखिन्छन् ।
नागरिकमा धमाधम कालाजार पुष्टि हुन थालेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र जिल्ला स्वास्थ्य कार्यालयबाट खटेका विज्ञ सहितको टोलीले प्रभावित क्षेत्रमा कालाजार नियन्त्रणका लागि अभियान चलाउन थालेको छ ।
महाशाखाका किटजन्य रोग नियन्त्रण प्रमुख गोकर्ण दाहाल नेतृत्वमा आएको टोलीले बिरामी भेटिएका प्रभावित घरदेखि एक सय मिटर आसपास भुसुना मार्ने किटनाशक औषधी छर्नुका साथै स्थानीय,नागरिक अगुवा र जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सुरु गरेको हो । सरकारले सन् २०२६ भित्र नेपालबाट कालाजार नियन्त्रण गर्ने लक्ष राखेको छ । जुन लक्ष्यमा पुग्न देशभर १० हजार जनसंख्या बराबर एकजना नागरिकमा पनि संक्रमण हुनु हुँदैन । यो मापदण्ड प्रत्येक जिल्लामा लागू दाहाल बताउँछन् ।
दाहालका अनुसार कालाजार नियन्त्रणका लागि सरकारले देशभर अभियान सञ्चालन गरिरहेको छ । कालाजार प्रभावित क्षेत्रमा किटनाशक औषधि छिट्नेदेखि संक्रमित बिरामीको निःशुल्क उपचार र औषधि वितरणसँगै यातायात खर्चबापत प्रतिव्यक्ति दुई हजार र संक्रमितको अन्य परीक्षण गर्नुपरे पाँच हजार रुपैयाँसम्म सहयोग रकम प्रदान गर्दै आएको छ ।
यो समाचार इकान्तिपुर अनलाइनवाट साभार गरिएको हो ।