

ताप्लेजुङ – विवादका बिच घोषणा गरिएको पदाधिकारीको नाम अनुमोदन गर्दै नेकपा एमाले निकट युवा सङ्घको अध्यक्ष मण्डलका संयोजक र केन्द्रीय अध्यक्ष जिल्लाबाट फर्किएको छन् । राष्टिय युवा सङ्घका केन्द्रीय अध्यक्ष क्षितिज थेबेसँग अध्यक्ष मण्डलका संयोजक निरोज पौडेलपनि फर्किएका हुन् ।
दुवैले दशौं जिल्ला अधिवेशन सौहार्द्रपूर्ण वातावरणमा सम्पन्न भएको दावी गरे । पौडेलले हलले सर्वसम्मत नाम अनुमोदन गरेकोपनि दावी गरे । हलले मानिक तुम्बाहाम्फे अध्यक्ष प्रकाश एभेङ उपाध्यक्ष, डेभिड लिम्बू सचिव, सुनिता याक्सो र बरुण साँवा सहसचिव रहेको पदाधिकारी अनुमोदन गरेको उनीहरूको दावी छ । तर आधिकारिक रुपमा घोषणा गरेका छैनन् ।
पाँच पदाधिकारी सहित विज्ञ युवा परिषद संयोजक एक, साइबर सर्कल प्रमुख एक, युथफोर्स प्रमुख एक र आर्थिक विभाग प्रमुख एकजना पनि पदाधिकारी सरहको मान्यता हुने युवासङ्घले जनाएको छ । स्रोतका अनुसार आर्थिकमा केशव पौडेल, विज्ञ परिषदमा पारुहाङ लिम्बू, साइबरमा श्रीहाङ लिम्बू र युथफोर्समा दिलकुमार सुनुवारको नाम रहेको छ । पौडेलले हललेनै नाम अनुमोदन गरेको दावी गरेपनि आधिकारिक रुपमा सार्वजनिक गरिएको छैन । अध्यक्ष मण्डलले गराउनु पर्ने सपथ ग्रहणपनि गराएका छैनन् ।
अध्यक्ष मण्डलका केही सदस्यले शुक्रवार मध्यान्ह १२ बजेदेखि हुनेगरि बन्दसत्र स्थगित भएको सूचना टाँसेका थिए । शुक्रबार बन्दसत्र सुरु नभएपछि असन्तुष्ट समुहले पत्रकार सम्मेलन गरेर तत्काल प्रकृया बढाउन माग गरेका थिए । तर केन्द्रीय अध्यक्ष, अध्यक्ष मण्डलका संयोजक निर्णय पुस्तिकामा हस्ताक्षर गरेर हिँडेपछि युवा सङ्घको जिल्ला अधिवेशन विवादका बिच सम्पन्न भएको एमालेका एक नेताले बताए ।