
ताप्लेजुङ – नेकपा एमाले निकट राष्ट्रिय युवा संघको बन्द सत्रमा बिहीबार राती कुर्सी हानाहान तथा तोडफोड भएको छ । राष्ट्रिय युवा सङ्घका केन्द्रीय अध्यक्ष क्षितिज थेवेको गृह जिल्ला समेत रहेको ताप्लेजुङमा बिहीबार सुरु भएको जिल्ला अधिवेशन भाँडिएको हो ।
विहीबार राती युवाहरू बिच कुर्सी हानाहान तथा सभा हलमा तोडफोड भएको छ । बिहीबार दिउसो थेवे आफैँले १० औं जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । उनलाई युवाहरूको समुहले काबेलीबाट मोटरसाइकल र्याली सहित भित्र्याएका थिए । तर बन्द सत्र सुरु भएपछि विवाद र झडपको स्थिति सृजना भएको हो ।
दुई समुहबीच सर्वसम्मत नेतृत्व चयनका लागि छलफल भएको थियो । युवा सङ्घ जिल्ला अधिवेशन आयोजक समितिका संयोजक मानिक तुम्बाहाम्फेको नेतृत्वमा समिति चयन गर्ने विषयमा छलफल भएको थियो । गत जिल्ला अधिवेशनमा पराजित बलबहादुर साम्सोहाङ पक्षधरले सहमतिमा कमिटी चयन गर्दा आफूहरूले सचिव पाउनु पर्ने प्रस्ताव गरेका थिए । अध्यक्ष मण्डलले मानिकको नेतृत्वमा एकपक्षीय रुपमा नाम घोषणा गरेपछि विवाद सुरु भएको जनाइएको छ ।
११ बजेदेखि सुरु विवाद बिहान २ बजेसम्म चलेको थियो । अध्यक्ष मण्डलले १९ गते दिनको १२ बजेदेखि बन्दसत्रको कार्यक्रम यथावत गर्नेगरी हस्तलिखित सूचना सार्वजनिक भएको छ । अध्यक्ष मण्डलको अध्यक्षमा निरोज पौडेल, सदस्यमा सुमना लिवाङ, अम्बिका नुगो, हेमराज निरौला, लेखनाथ भट्टराई र दिपक धिताल रहेका छन् । यो सूचनामा भने लेखनाथले मात्रै हस्ताक्षर गरेको देखिएको छ ।
सदस्य दिपक धितालले सामान्य विवाद भएको र आज टुङ्गिने बताए । ‘प्रकृयामा नजाँदा सामान्य विवाद भएको हो, आज १२ बजेदेखि सुरु हुन्छ र एउटा सहमतिमा टुंगीन्छ’ धितालले भने । जिल्लामै रहेका केन्द्रीय अध्यक्ष थेवेले भने आफू बिहान ४ बजेमात्रै सुतेको र सबै प्रकृया पुरा भइसकेको प्रतिकृया दिएका छन् । एमाले जिल्ला अधिवेशनदेखि जिल्लामा डम्बरध्वज तुम्बाहाम्फे र बलबहादुर साम्सोहाङको दुई समुह रहेको छ ।