

काठमाडौं । राजनीतिभन्दा निकै टाढा रहेका पूर्वनवयुवराज हृदयन्द्र वीरविक्रम शाह अहिले अनावश्यक ढंगले सार्वजनिक बहसमा तान्ने प्रयास भएको छ । अभिनेत्री सुरक्षा पन्तले उनलाई फिल्म खेल्न सुझाव दिएपछि सुरु भएको बहसमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत मिसिए ।
शालिन र शान्त छविका हृदयन्द्र आजका दिनसम्म ‘लो प्रोफाइल’ को जीवन बाँच्दै आएका छन् । उनलाई चर्चाको कुनै भोक छैन । पिता पूर्वयुवराज पारस शाहको भन्दा उनको छवि ठीक विपरित छ । पारस सुरुदेखि अनेक विवादमा मुछिएका थिए भने हृदयन्द्र आजका दिनसम्म विवादमुक्त छन् । उनको शिष्टता र अनुशासनलाई लिएर धेरेले प्रशंसा गर्ने गर्छन् । युवा-युवतीहरूको ठूलो जमात उनका फ्यान छन् । कयौँ युवतीहरूले उनलाई ‘क्रस’ भन्ने गर्छन् ।
२२ वर्षीय हृदयन्द्र अहिले पनि अध्ययनकै क्रममा छन् । उनी अमेरिकाको बोस्टनमा स्नातकोत्तर अध्ययन गरिरहेका छन् । स्नातक पनि उनले बोस्टनबाटै गरेका थिए । आफ्नो अध्ययनमै ‘फोकस्ड’ रहेका हृदयन्द्र सार्वजनिक कार्यक्रमहरूमा कमै देखिन्छन् । विगतमा हिमानी ट्रस्टले गरेका एकाध कार्यक्रममा उनी देखा परेका थिए । अन्यथा चुपचाप विदेशमा पढेर बसिरहेका छन् ।
भनिरहनु नपर्ला, अहिले उत्पन्न गरिएको बहस र विवादमा हृदयन्द्रको कुनै पनि हात छैन । एउटा टेलिभिजन कार्यक्रममा उपस्थित भएकी नायिकालाई अनावश्यकरुपमा हृदयन्द्रमाथि टिप्पणी गर्न लगाइयो । नायिकाले पनि आफ्नो ‘बौद्धिकता’ प्रदर्शन गर्ने धुनमा हृदयन्द्रलाई फिल्म खेल्न अर्ति दिइन् । हृदयन्द्रलाई भावी राजाका रूपमा हेर्न चाहेकाहरूलाई यो चित्त बुझेन । फलस्वरूप अभिनेत्रीमाथि प्रहार सुरु भयो ।
जब विवाद सेलाउँदै थियो, आफ्नो स्वभाव अनुसार प्रधानमन्त्री ओलीले टिप्पणी गरिहाले । सुरक्षाको बचाउ मात्रै गरेको भए पनि ठिकै थियो, तर हृदयन्द्रलाई चेतावनीको भाषामा ‘राजा बन्ने सपना नदेख्न’ उनले दिएको सुझाव पटक्कै शोभनीय मानिएको छैन । नाति उमेरका युवक, जसले न अहिलेसम्म कहिल्यै राजनीतिमा अभिरुचि देखाएको छ, न त राजा बन्ने चाहना नै व्यक्त गरेको छ, लाई प्रधानमन्त्रीले यस्तो ध्वाँस दिइरहनु के आवश्यक थियो ?
तत्कालीन राजा र राजपरिवारका सदस्यहरूको एउटा विशेषता के रहिआएको छ भने बाहिर जेजस्ता टीकाटिप्पणी भइरहे पनि उनीहरूले त्यसमा हम्मेसी प्रतिक्रिया जनाउँदैनन् । मिडियामा इन्टरभ्यू दिन आइहाल्दैनन् । यदि कुनै माध्यमबाट बोलिहाले पनि निकै घुमाउरो र अमूर्त शब्दावली प्रयोग गर्छन् ।
पहिलोपटक हृदयन्द्रले पनि आफूमाथि भइरहेका टीकाटिप्पणीहरुप्रति सार्वजनिक प्रतिक्रिया जनाएका छन् । उनले इन्स्टाग्राममा एउटा पोस्ट गर्दै आफ्नो भनाइ संक्षिप्तमा राखेका हुन् । यो पोस्टमा उनले कसैलाई आरोपित गरेका छैनन् ।
सबैलाई आफ्नो विचार खुल्ला रूपमा व्यक्त गर्ने अधिकार रहेको र एक अर्काको विचारलाई सम्मान गर्नुपर्ने हृदयन्द्रको भनाइ छ । कहिलेकाहीँ फिल्मको भूमिका निभाउनुभन्दा साँचो र वास्तविक हुनु गाह्रो काम भएको टिप्पणी पनि उनले गरेका छन् ।
हृदयन्द्रको पोस्ट यस्तो छ:
कहिलेकाहीँ फिल्मको भूमिका निभाउनुभन्दा साँचो र वास्तविक हुनु गाह्रो हुन्छ । हामी सबैलाई आफ्ना विचार खुलारुपमा व्यक्त गर्ने अधिकार छ । सबैले एक अर्काको विचारको सम्मान गर्नुपर्छ । दयालुपन फैलाऔँ । नेपालीहरूले एक-अर्कालाई सहयोग गर्नुपर्छ न कि तल झार्ने ।’
हृदयन्द्रको इन्स्टाग्राम पेजमा २८ हजार २ सय फलोअर्स छन् । उनले २२ जनालाई फलो गरेको देखिन्छ । सामाजिक सञ्जाल फेसबुक–ट्विटरमा भने हृदयन्द्रको आधिकारिक खाता छैन । हृदयन्द्रका दुई दिदी बहिनी पूर्णिका र कृतिका पनि इन्टाग्राममै बढी सक्रिय छन् ।