

भद्रपुर । पाथीभरा क्षेत्रमा सोमबार भएको जीप आगलागीको घटनामा ज्यान गुमाएका तीन जनाको भद्रपुरमा सामूहिक अन्त्येष्टि गरिएको छ । भद्रपुर– ७ देउनियाँस्थित संकटेश्वर विश्रान्ति घाटमा मंगलबार साँझ भद्रपुर ८ निवासी ७० वर्षीय विनोद पौडेल र उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेलको एउटै चितामा अन्त्येष्टि गरिएको थियो । भने सो घटनामा ज्यान गुमाएकी उनीहरूका नातिनी ललितपुर निवासी १६ वर्षीया आध्या आचार्यको पनि सोही घाटमा अन्त्येष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
आफ्ना आमाबुवा र भान्जीको दुखद घटना सुनेर अस्ट्रेलियाबाट हतारिँदै फर्किएका समीप पौडेलले आफ्ना आमाबुवालाई दागबत्ती पनि दिन पाएनन् । घटना सुनेर उनी अस्ट्रेलियाबाट काठमाडौँ आइसकेका थिए । तर , दुर्भाग्यवश काठमाडौँबाट दिउँसो ३ः५० बजेको समीप चढेको विमान प्रतिकुल मौसमका कारण चन्द्रगढी विमानस्थल आउन नसकी बीच बाटोबाटै फर्किएको छ । सोही विमानमा आध्याका बडाबुवा पनि चढेका थिए । उनी पनि आध्यालाई दागबत्ती दिनका लागि आउन पाएनन् । छोरा समीप आउने भनेर घाटमै करिब दुई घण्टा पर्खेर बसेको भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलले बताए । उनी र आध्याका घरका सदस्य आउन नसक्ने भएपछि साँझ ७ बजेतिर दागबत्ती दिइएको थियो । विनोदका काका कृष्ण पौडेलले तीनै जनालाइै दागबत्ती दिएको नगर प्रमुख पोखरेलले जानकारी दिए ।
सदरमुकाम फुङलिङबाट दर्शनार्थी लिएर पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जीपमा सोमबार बिहान ५ बजेतिर सेवारो चोकमा पोलबाट लत्रिएको तार छुँदा करेन्ट लागेको थियो । त्यसलगत्तै जीपमा आगो लागेको थियो। आगलागीबाट भद्रपुर ८ निवासी ७० वर्षीय विनोद पौडेल , उनकी श्रीमती ६९ वर्षीया सरिता पौडेल , उनीहरूका नातिनी ललितपुर निवासी १६ वर्षीया आध्या आचार्य र गाडी चालक ताप्लेजुङको फुङलिङ नगरपालिका १० का ४२ वर्षीय दुर्गा भट्टराईको मृत्यु भएको थियो । त्यस्तै पौडेलका छोरी ललितपुर –१० बस्ने ४५ वर्षीया सबिना आचार्य र नाति ९ वर्षीय भबियम आचार्य घाइते भएका छन् ।
यो समाचार टाइम्स अफ प्रदेशवाट साभार गरिएको हो ।